मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो


गोरखा, २६ वैशाख । मनास्लु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हीरक जयन्ती मनाइएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका-१ सामागाउँमा अवस्थित आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणको अवसरमा हीरक जयन्ती मनाइएको हो ।

चुमनुब्री गाउँपालिकाको आयोजना तथा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप), नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एजेन्सिज एशोएसन (टान) लगायत संस्थाको सहआयोजनामा आज यहाँ हीरक जयन्ती मनाइएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हीरक जयन्तीको उद्घाटन गर्दै यो पर्यटन प्रवर्द्धनमा एक महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको बताए ।

सो अवसरमा मनास्लुको प्रथम आरोही जापानी नागरिक तोसीयो इमानिसी र उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण गरिएको छ । मुख्यमन्त्री पाण्डे, गाउँपालिकाका अध्यक्ष निमा लामाले जापानी आरोहीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसीलाई प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरे । साथै सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा, नाङ्स्याल छेदेन र डिकी लामालाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा भोटेलामा समुदायको सांस्कृतिक सेर्का नाच तथा अन्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । विश्वको आठौँ, नेपालको सातौँ अग्लो मनास्लु हिमाल प्रथम पटक सन् १९५६ मे ९ तारिखमा तोसियो इमानिसी र नेपाली नागरिक उर्गेन छिरिङ शेर्पाले सफल आरोहण गरेका थिए । रासस