टक्सार (भोजपुर), २६ वैशाख । कवि तथा साहित्यकार शङ्करप्रसाद कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ नामक गीतिसङ्ग्रह भोजपुरमा लोकार्पण गरिएको छ । सयौँ गीत समेटिएको उक्त सङ्ग्रह कोइरालाको गृहजिल्ला भोजपुरमा आज सार्वजनिक गरिएको हो ।
सरल र बहुआयामिक व्यक्तित्वका धनी कोइराला साहित्यकार तथा समाजसेवीका रूपमासमेत परिचित छन् । पूर्वअर्थमन्त्रीसमेत रहेका उनले ‘आधा जिन्दगी बितिसक्यो’, ‘लाजको लाली पोतेर आइदेउन’ र ‘रुपौली रानी’लगायत कयौँ चर्चित गीतहरूको रचना गरिससकेका छन् ।
आफ्नो माटोप्रतिको माया र सम्मानका कारण जन्मथलोमा गीत सङ्ग्रह लोकार्पण गरिएको कोइरालाले बताए । विसं २०५१ मा स्थापित संस्था त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले कोइरालाको गीत सङ्ग्रह लोकापर्ण कार्यक्रमको आयोजना गरेको हो ।
सोक्रममा कला क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै कोइरालालाई दोसल्लासहित सम्मानपत्रबाट सम्मान गरिएको छ । कार्यक्रममा कोइरालाले कला, साहित्य र गीतलाई मनोरञ्जनका रूपमा मात्र लिन नहुने बताउँदै यसले समाजका यथार्थ अवस्था चित्र गर्ने उल्लेख गरे । उनले समाजमा सकारात्मक परिवर्तनका लागि कला, साहित्वको महत्तपूर्ण योगदान रहने धारणा राखे । रासस




प्रतिक्रिया