क्यानलाई आवश्यक कारबाही गर्न मन्त्रालयले दियो राखेपलाई निर्देशन


काठमाडौं । युवा तथा खेलकुद मन्त्रालये राष्ट्रिय खेलकुद परिषदलाई नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा छानविन गर्न सहयोग नगरेको भन्दै राखेपलाई मन्त्रालयले पत्र लेख्दै क्यानलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

अख्तियारमा २०८१ मंसिर ७ गते र २०८१ फागुन १२ गते परेको उजुरी सम्बन्धमा २०८१ पुस २५ गते मन्त्रालयमा सचिवस्तरको निर्णय र २०८२ भदौ ५ गते मन्त्रीस्तरीय निर्णय भई समिति गठन भई छानविन प्रक्रियाको जिम्मेवारी पाएपनि खेलकुद विकास ऐन २०७७ को दफा २८ खण्ड (च) र (ड) बमोजिम मन्त्रालय तथा परिषदबाट श्रेस्ताको जाँचबुझ गर्न सो सम्बन्धी अभिलेख उपलब्ध गराउने बाध्यात्मक व्यवस्था रहेकोमा सो कानुनी प्रावधा क्यानबाट पालना नभएको मन्त्रालयले परिषदलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको पत्र यस्तो छ :

प्रस्तुत विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उ.द.नं. ०३०३२२, मिति २०८१।०५।०७ र उ.द.नं. ०४९५७६, मिति २०८१।११।२९ को उजुरी सम्बन्धमा यस मन्त्रालयमा मिति २०८१।१०।२५ मा सचिवस्तरबाट, २०८१।११।१५ मा माननीय मन्त्रीज्यूस्तरबाट निर्णय भई समिती गठन गरी छानबिन प्रक्रिया अगाडि बढेको देखिन्छ। यसमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ बमोजिम मन्त्रालय तथा परिषद्बाट प्रेरितको जायजाँच गर्ने सो सम्बन्धी अभिलेख उपलब्ध गराउने बाध्यात्मक व्यवस्था रहेकोमा सो कानुनी प्रावधान नेपाल क्रिकेट संघबाट पालन भएको देखिएन।

यस्तो अवस्था जाँचबुझ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट २०८१।०५।१६ (प.सं. Div-६-५८५२/युवा-२, च.नं. २५८७२) र २०८१।११।२१ (प.सं. Div-६-५९२८/युवा-५२, च.नं. ४१४५) मा प्राप्त पत्र बमोजिमका उजुरीहरूको निष्पक्ष गरी कारबाही किनारा गर्नुपर्नेमा सो हुन नसकी फाइल अनिर्णीत रहेको देखियो। यस सम्बन्धमा नेपाल क्रिकेट संघलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ बमोजिमको कारबाही गर्ने र निलम्बन गर्ने सम्बन्धमा कारबाही गर्नुपर्ने देखिएकोले आयोगको पत्र बमोजिमको जवाफ र आवश्यक कागजात समेत प्राप्त नगरी सोही ऐनको दफा २९ बमोजिम किन कारबाही नगर्ने भनी राष्ट्रिय खेलकुद परिषद् मार्फत अन्तिम पटक चेतावनी सहितको शर्त पालन गर्न निर्देशन सहितको स्पष्टीकरण सोधी जवाफ माग गरी आवश्यक कारबाही अगाडि बढाउन भनी यस मन्त्रालयमा भएको मिति २०८२।०१।१४ को (मा. मन्त्रीस्तर) निर्णयानुसार आवश्यक कार्यार्थ पठाइएको व्यहोरा अनुरोध छ।