मधेश दौडाहामा ऋषि धमलाः छोटी भन्सारदेखि सुकुम्बासी समस्यासम्म,जनताका पीरमार्का बुझ्दै


काठमाडौँ । वरिष्ठ पत्रकार ऋषि धमला यतिबेला मधेशका विभिन्न जिल्लाको स्थलगत भ्रमणमा छन् । सिरहादेखि रौतहटको दक्षिणी भेगसम्म पुगेर उनले स्थानीयका समस्या, सीमावर्ती क्षेत्रका चुनौती र विकासका मुद्दाहरूलाई नजिकबाट नियालिरहेका छन् ।

सिरहाको बरियापट्टीमा रहेको छोटी भन्सार लामो समयदेखि बन्द हुँदा स्थानीय व्यापार र जनजीवन प्रभावित भएको छ । उक्त भन्सार पुनः सञ्चालनको माग गर्दै स्थानीयवासी केही दिनदेखि आन्दोलनरत छन् । सोही आन्दोलनलाई साथ दिन र जनआवाजलाई राज्यको माथिल्लो निकायसम्म पुर्‍याउन पत्रकार धमला सिरहा पुगेका हुन् ।

‘छोटी भन्सार बन्द हुँदा यहाँको आर्थिक गतिविधि ठप्प भएको छ, सर्वसाधारणले अनावश्यक सास्ती खेप्नुपरेको छ,’ धमलाले भने, ‘जनताको यो जायज मागमा मेरो पूर्ण समर्थन छ र यो मुद्दालाई म राष्ट्रिय बहसको विषय बनाउनेछु ।’

यसैबीच, आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ मा पुग्दा उनलाई स्थानीयले भव्य स्वागत गरेका थिए । विशेषगरी सो क्षेत्रमा व्याप्त जनस्वास्थ्य, शिक्षाको अवस्था र बेरोजगारीका विषयमा धमलाले स्थानीयसँग अन्तर्क्रिया गरेका छन् ।

तराई भ्रमणका क्रममा धमलाले उठान गरेको प्रमुख मुद्दा सुकुम्बासी समस्या पनि हो । पछिल्लो समय विकल्पबिना नै सुकुम्बासी बस्ती हटाउन खोजिएको भन्दै धमलाले कडा आपत्ति जनाएका छन् । धमलाले तीन तहका सरकार र स्थानीय प्रशासनलाई सुकुम्बासीहरूलाई उचित विकल्प र बसोबासको व्यवस्था नगरी उनीहरूका घरटहरा नभत्काउन आग्रह गरेका छन् ।

रौतहटका ग्रामीण भेगमा रहेका सरकारी विद्यालय र स्वास्थ्य चौकीको अवस्था सुधारका लागि पनि धमलाले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

धमलाले रौतहट, सर्लाही र सिरहाका सीमावर्ती क्षेत्रहरूको समेत भ्रमण गरेका छन् । सीमा क्षेत्रमा हुने तस्करी, दशगजा क्षेत्रको विवाद र सुरक्षाकर्मीले खेप्नुपरेका समस्याबारे उनले स्थलगत जानकारी लिएका छन् ।

‘सीमामा बस्ने जनता नै देशका असली रक्षक हुन्, तर उनीहरू नै आधारभूत सुविधाबाट वञ्चित छन्,’ धमलाले भने, ‘सीमावर्ती समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कूटनीतिक र प्रशासनिक दुवै तवरबाट कदम चाल्न जरुरी छ ।’

मिडियामा सधैँ आक्रामक र प्रश्नकर्ताका रूपमा देखिने धमला मधेशका गाउँ–गाउँमा पुग्दा भने निकै शालीन र भावुक रूपमा प्रस्तुत भइरहेका छन् । वृद्धवृद्धादेखि युवाहरूसम्मका कुरा धैर्यसँग सुन्दै उनले भने, ‘म सधैँ जनताको पक्षमा उभिएको छु । मधेशका यी पसिना र समस्यालाई सिंहदरबारले चिन्नुपर्छ ।’

धमलाको यो तराई भ्रमणले स्थानीय नागरिकमा उत्साह छाएको छ भने ओझेलमा परेका कतिपय मुद्दाहरू पुनः सतहमा आएका छन् ।