आफूविरुद्ध मिडियाले भ्रम फैलाएको भन्दै खरेलको आपत्ति,आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिने घोषणा


काठमाडौं । पूर्वसञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले आफूविरुद्ध मिडियाले भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा सांसद खरेलले आफूविरुद्ध स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा जोडिएको भन्दै ती आरोप पुष्टि गर्न चुनौती दिए ।

उनले स्मार्ट टेलिकमको प्रकरणमा जोडिएर आफूले एउटा बैठक, फाइल पारित गर्ने कुनै पनि काम नगरेको दावी गरे ।

‘स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा मलाई जोडेर सुटुक्क स्वीट्जरल्याण्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, भ्रामक र सी ग्रेडको पत्रकारिता पनि भन्न नसुहाउने हिसाबमा जसरी समाचार प्रकाशित गरियो । यसले मेरो मान, सम्मान, इज्जत, राजनीतिक जीवन, समग्र संसद् र मेरो पार्टीभित्र अपमान गरेको महसुस गरेको छ । यो संसद्मा रेकर्ड रहोस् भनेर यसको खेद र भर्त्सना गर्न चाहन्छु,’ उनले भने ।

उनले आफू उक्त प्रकरणमा जोडिएको प्रमाणित भए राजनीतिक जीवनबाट बिदा लिने घोषणा समेत गरे ।