काठमाडौं, वैशाख २९ । मादक पदार्थ सेवन गरेर सरकारी गाडी चलाएका कैलालीस्थित गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टलाई धनगढी उपमहानगरपालिकाले ३५ हजार क्षतिपूर्ति तिराउने भएको छ । शनिबार राति मापसे गरेर उनले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटामा दुर्घटना भएको थियो ।
दुुर्घटनामा परेको गाडीले सडक छेउमा लगाइएको रेलिङमा क्षति पुगाएपछि उपमहानगरपालिकाले सो वाफतको रकम मेयर भट्टलाई दण्ड तिराउने भएको हो । धनगढी उपमहानगरपालिकाका प्राविधिकले गाडीले गरेको क्षतिको मूूल्यांकन गर्दै मर्मत सम्भार गर्न ३५ हजार लाग्ने स्टमेट निकालेका छन् ।
उक्त रकम नगदी रसिद काटेर मेयर भट्टबाट बुुझेर ल्याउन उपमहानगरपालिकाले कैलाली गाउँस्थित प्रहरी चौकीमा नगर प्रहरीलाई पठाएको थियो । तर, वारेस पठाएका मेयर भट्टले आफूले नै मर्मत सम्भार गर्ने प्रतिबद्धता गरेको उपमहानगरपालिकाले जनाएको छ । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक सम्पत्तीमा क्षति गराउने व्यक्ति स्वयंमबाट क्षति वाफतको रकम लिने तथा मर्मत सम्भार गराउदै आएको छ ।
मदिरा सेवन गरेर लठ्ठ भएका मेयर भट्टले आफैले चलाएको गाडी शनिबार राति दुर्घटनाग्रस्त अवस्थामा भेटिएपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । यसअघि ट्राफिक प्रहरी कार्यालय कैलालीले गरेको परिक्षणमा मेयर भट्टले मापसे गरेको पुष्टि भएपछि पाँच सय रुपैयाँ र लापरबाहीपूर्वक सवारी चलाएको भन्दै थप पाँच सय रुपैयाँ जरिवाना तिराएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी प्रेम शाहीका अनुसार आफन्तमार्फत जरिवाना रकम बुझाइएपछि नियन्त्रणमा रहेको गाडी कागज गरेर छाडिएको छ । दुर्घटनामा मेयर सकुशल छन् भने गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।




प्रतिक्रिया