प्रधानमन्त्रीले आज वार्षिक नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिने


काठमाडौं, वैशाख ३० । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिने भएका छन् ।

संसद् सचिवालयका अनुसार आजको बैठक मुख्यतः सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि केन्द्रित रहने छ भने बैठकमा प्रधानमन्त्री शाहले गत सोमबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

छलफलका क्रममा सांसदहरूले नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रस्तुत गर्नेछन् र त्यसमाथि दफावार छलफल हुनेछ। आजैको बैठकमा प्रधानमन्त्री शाहले छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन् । प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रमलाई पारित गर्ने प्रक्रिया अगाडि बढाइनेछ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि १२ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ ।