काठमाडौं । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारीहरुले गैरकानूनी रुपमा सम्पत्ति कमाएको भेटिएमा उजुरी दिन आग्रह गरेको छ ।
सम्पत्ति छानबिन आयोगले विहीबार गोरखापत्रमा एक सूचना जारी गरी गर्दै भ्रष्टाचार वा अरु अपराध गरेर सम्पत्ति कमाउनेहरुबारे सूचना दिन भनिएको हो ।
सार्वजनिक पदमा रहेका राजनीतिक पदाधिकारी तथा कर्मचारीले अस्वाभाविक तरिकाले आर्जन गरेको सम्पत्ति आफ्नो वा परिवारका सदस्य तथा आफन्तको नाममा लुकाई राखेको सम्बन्धमा विश्वसनीय सूचना, जानकारी वा प्रमाण भएमा आयोगमा उजुरी दिन सकिने सूचनामा उल्लेख गरिएको छ।
आयोगले उजुरी दिँदा सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, सम्पर्क नम्बर तथा सम्भव भएसम्म प्रमाणहरू समेत उल्लेख गर्न अनुरोध गरेको छ। उजुरीकर्ताले आफ्नो विवरण खुलाएर कार्यालयमा उपस्थित भई, हुलाकमार्फत वा आयोगको इमेलमार्फत समेत उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
यसका साथै, उजुरीकर्ताको पहिचान गोप्य राखिने आयोगले जनाएको छ। ‘सो अनुसारको उजुरी गर्ने उजुरीकर्ताको नाम, थर र वतन समेतको विवरण आयोगमा गोप्य रहने व्यहोरासमेत सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।





प्रतिक्रिया