भदौ २३ र २४ दासढुंगा घटनाकै निरन्तरताः थापा


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले दासढुंगा घटना सामान्य सडक दुर्घटना या गम्भीर राजनीतिक षड्यन्त्र थियो भन्ने आजसम्म अनुत्तरित र रहस्यमय रहेको बताएका छन् ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा उनले कोतपर्वदेखि, दरबार हत्याकाण्डसम्मको उदाहरण दिँदै भदौ २३–२४ को जेनजी आन्दोलनसम्म आइपुग्दा यो शृङ्खलाको अन्त्य नभएको उल्लेख गरेका छन् ।

नेपालको राजनीतिक इतिहास केलाउँदा देशी–विदेशी शक्ति र सत्ताहरूका लागि कुनै राजनीतिक दल, त्यसको नेता वा कुनै व्यक्ति गम्भीर चुनौती र खतराका रूपमा उपस्थित हुँदा उनीहरूले आफ्नो सत्ता रक्षाका लागि सम्बन्धित पक्षलाई भौतिक रूपमै समाप्त गर्ने, हत्या गर्ने र ध्वस्त पार्ने अन्तिम सहारा तथा अभ्यास गर्ने गरेको थापाले दाबी गरे ।