साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड


खोटाङ, ३ जेठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव(२०८३’ सुरु भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको आयोजनामा आजदेखि सुरु भई जेठ ९ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धन रहेको छ ।

खेलकुदका माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटन प्रवर्द्धन गर्ने, स्थानीय खानाको प्रवर्द्धन गर्ने र क्षमतावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।

“खेलकुदका माध्यमबाट जिल्लालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटकीय जिल्लाका रूपमा विकास गर्न तेस्रो पटक महोत्सव आयोजना गरेका हौँ । छ दिनसम्म सञ्चालन हुने महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने छ”, उनले भने ।

महोत्सवको पहिलो दिन दौड प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा बालबालिका, वृद्धवृद्धा, युवा सबैको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामा उत्पादन गर्ने लक्ष्य राखिएको उनले उल्लेख गरे ।

महोत्सवमा एथलेटिक्स, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको खेलकुद प्रतिष्ठान खोटाङका सचिव मिलन कसजूले बताए । उनका अनुसार जिल्लाका दशवटै स्थानीय तह र शुभेच्छुकको आर्थिक सहयोगमा आयोजना गरिएको महोत्सवमा देशभरका धावक, साहित्यकार तथा खेलाडीको सहभागिता छ ।

आज एथलेटिक्स विद्याअन्तर्गत दौड प्रतियोगिता आयोजना गरिएको जनाउँदै उनले यसअन्तर्गत जिल्लाभित्र र बाहिरका गरी ७५५ जना धावक सहभागी भएका उल्लेख गरे । सचिव कसजुका अनुसार १५ वर्षभन्दा माथिका १० किलोमिटर खुला दौड प्रतियोगिताको महिलातर्फ खोटाङकी दीपा बस्नेत प्रथम, रणभीम गण मुडे ब्यारेककी जानुका राउत द्वितीय र मनिता खड्का तृतीय भएकी छन् । पुरुषतर्फ ताप्लेजुङका अमीर लिम्बू प्रथम, खोटाङका जगेन्द्र राई द्वितीय र सोलुखुम्बुका रुद्रधन कुलुङ तृतीय भएका छन् ।

उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु १५ हजार, रु १० हजार, रु सात हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी धावकलाई नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, सुरक्षा प्रमुखलगायतले पुरस्कार वितरण गरे ।

पैँतीस वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीका लागि सात किमी दौड प्रतियोगितामा उदयपुरका अनन्त राई प्रथम, सुनसरीका विमानसिंह तामाङ द्वितीय र खोटाङका शिवप्रसाद राई तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीयले क्रमशः १५ हजार, १० हजार र सात हजार पुरस्कार प्राप्त गरेका छन् ।

आमाहरूका लागि पाँच किमी दौडमा जमुना कटवाल प्रथम, रोजना राई द्वितीय र भीमकुमार आचार्य तृतीय भएकी छन् । यसअन्तर्गत प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार ५५५, चार हजार ४४४ र तीन हजार ३३३ पुरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ ।

पन्ध्र वर्षमुनिका छात्रछात्राका लागि आयोजित सात किमी दौडमा छात्रतर्फ सम्पत राई प्रथम, न्यूजल राई द्वितीय र धीरज राई तृतीय भएका छन् । छात्रातर्फ अस्मिता कटवाल प्रथम, लक्ष्मी राई द्वितीय र कविता आचार्य तृतीय भएकी छन् । त्यस्तै, १२ वर्षमुनिका छात्रछात्रा तीन किमी दौड प्रतियोगिताअन्तर्गत छात्रतर्फ निशान केसी प्रथम, दर्शन राई द्वितीय र यञ्जल राई तृतीय भएका छन् भने छात्रातर्फ मन्दिरा श्रेष्ठ प्रथम, एलिसा कटवाल द्वितीय र रक्षा विश्वकर्मा तृतीय भएकी छन् ।

आयोजकका अनुसार १० वर्षमुनिका छात्रछात्राका लागि एक माइल दौडमा छात्रतर्फ जालपा माविका अनिल राई प्रथम, श्री मावि बाँस्बोटेका अजय श्रेष्ठ द्वितीय, दिक्तेल बोर्डिङ स्कुलका रविशन खत्री तृतीय भएका छन् । दश वर्षमुनिका छात्रातर्फ जालपा माविका अपेक्ष राई प्रथम, सरस्वती मावि दिक्तेलकी युना राई द्वितीय र श्री मावि बाँस्बोटेकी श्रद्धा राई तृतीय भएकी छन् ।

दिक्तेल बजारस्थित मानव अधिकार चोकलाई केन्द्र मानेर आयोजना गरिएको प्रतियोगितामा ५५ वर्षभन्दा माथिका पुरुषका लागि दुई किमी दौड प्रतियोगिता आयोजना गरिएको थियो । उक्त दौडमा धनीराम राई प्रथम, विचारी तामाङ द्वितीय र वुद्धवीर लामा तृतीय भएका छन् । यसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार ५००, चार हजार ५०० र दुई हजार ५०० प्राप्त गरेका छन् ।

बाह्र वर्षदेखि १५ वर्षमुनिका छात्रछात्राका लागि सात किमी दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः सात हजार ५००, छ हजार ५०० र पाँच हजार ५०० प्राप्त गरेका छन् भने १० वर्षमुनिका छात्रछात्राका लागि एक माइल दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

खुला बुद्धिचाल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ र सातौँ हुनेले क्रमशः २५ हजार, १५ हजार, १० हजार, आठ हजार, सात हजार र पाँच हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । बुद्धिचाल प्रतियोगिता यही जेठ ६ गते र साहित्यिक प्रतियोगिता जेठ ९ गते आयोजना गरिने खेलकुद प्रतिष्ठानका अध्यक्ष राईले जानकारी दिए ।

साहित्यतर्फ ख्यातिप्राप्त साहित्यकारबीच आ(आफ्ना सिर्जना सुन्ने, सुनाउने कार्यक्रम राखिएको छ । नेपाल प्रज्ञा(प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिने साहित्यिक महोत्सवमा कविता, गजल र मुक्तक सुन्ने, सुनाउने कार्यक्रम राखिएको उनले बताए ।

महोत्सव सम्पन्न गर्न ३० लाख १३ हजार २३२ बजेट लाग्ने अनुमान गरिएको आयोजक सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिए । महोत्सवका लागि जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर कार्यक्रम सञ्चालन गरिएको हो ।

महोत्सव उद्घाटनको अवसरमा आयोजकले पत्रकार सविना अछामे परियारलाई रु ११ हजार १११ नगदसहित पुरस्कृत गरेको छ । समापनको अवसरमा विभिन्न विद्यामा महत्वपूर्ण योगदान गर्ने पाँच जना व्यक्तिलाई नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष राईले जानकारी दिए । -केदार मगर/रासस