जनताभन्दा सत्तासँग नजिक हुँदा पार्टी कमजोर भयो : एमाले महासचिव


काठमाडौं, जेठ ३ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनतासँग नजिक हुन नसक्दा पार्टीले चुनावमा पराजय भोग्नुपरेको स्वीकार गरेका छन्। मदन आश्रित स्मृति प्रतिष्ठानद्वारा आयाेजित ‘जनताको बहुदलीय जनवाद र युवा विषयक’ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जनताबाट टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय बेहोर्नुपरेको बताएका हुन्।

पोखरेलले भने, ‘गत निर्वाचनमा बेहाेरेकाे पराजयकाे समीक्षा आवश्यक छ। जनतासँग भिजेका भन्दा जनतासँग टुटेका कार्यकर्ताकाे भरमा चुनावमा जाँदा हामीले पराजय बेहाेरेकाे यथार्थता भुल्नुहुँदैन। जबजकाे नीति कार्यान्वयनमा समस्या भयो। जनतासँग भन्दा सत्तासँग नजिक हुने परिपाटीकाे विकास भयाे। यसैका कारण दिनप्रतिदिन पार्टी कमजाेर हुँदै गएकाे छ। यसलाई नसच्याउँदासम्म पार्टी बलियाे हुँदैन।’

पोखरेलले ‘जेनजी आन्दोलन’प्रति एमालेले लिएको दृष्टिकोणप्रति जनताले विश्वास नगरेको स्वीकार गर्दै त्यसकै परिणामस्वरूप पार्टीले गत निर्वाचनमा पराजय बेहोरेको बताए।