नेवानिले किन हटाउन लाग्यो दुई पाइलटसहित पाँच कर्मचारीलाई ?


काठमाडौँ । नेपाल वायुसेवा निगमले दुई पाइलटसहित पाँच कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया शुरु गरेको छ।

उनीहरु बिदा स्वीकृत नगराई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको निगम प्रशासनको भनाइ छ ।

निगमको मानव संशाधन विभागले सूचना जारी गरी ती कर्मचारीहरूलाई कार्यालयमा लामो समयसम्म अनुपस्थित रहनुको कारण पेश गर्न अन्तिम मौका दिएको छ।


यसैबीच, कारबाहीको प्रक्रियामा पर्नेहरूमा क्याप्टेन सञ्जय बाँदे श्रेष्ठ, को–पाइलट विवेक प्याकुरेल, अटोमोवाइल इन्जिनियरद्वय सरोज कार्की र विदित देवकोटा एवं प्राविधिक अधिकृत उमेशकुमार साह रहेको निगमले जानकारी दिएको छ । यीमध्ये क्याप्टेन श्रेष्ठ २०७६ सालदेखि नै कार्यालयमा अनुपस्थित रहेको निगमको रेकर्डमा देखिएको सूचनामा उल्लेख छ ।


विदा स्वीकृत नगराई लगातार ३० दिनभन्दा बढी समयसम्म कार्यालयमा अनुपस्थित रहने कर्मचारीलाई भविष्यमा निगमको सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने कानुनी प्रावधान रहेको निगमको मानव संशाधन विभागले जनाएको छ। बर्खास्त गर्नुअघि उनीहरुलाई स्पष्टीकरण मौका दिइएको निगम प्रशासनले जनाएको छ ।