राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण


काठमाडौँ, ४ जेठ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्ने सांसदहरूले वर्षायामसँगै बाढीपहिरो र डुबानको त्रासदेखि बादर, बदेल आतङ्कले किसानमा परेको चिन्तालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सांसद गीता देवकोटाले वर्षायाम सुरु भएदेखि बाढी, पहिरो र डुुबानको त्रासमा बाँच्न बाध्य नागरिकलाई तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि तयारी हुन सरकारको ध्यानाकर्षण गराइन् । सांसद जगत तिमिल्सिनाले विश्वविद्यालयका शैक्षिक संस्थाहरूले निर्देशन गरेको प्राध्यापन र परीक्षा प्रणाली सञ्चार गरेर बाँकी समयमा अन्य काम गर्दा गलत प्रचार गर्न नहुने धारणा राखे ।

सांसद मीना सिंह रखालले दैलेखसहित देशमा विभिन्न भागमा बाँदर र बँदेलका कारण किसान मर्माहत भइरहेकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै जङ्गली जनावर नियन्त्रण गरी दीर्घकालीन रूपमा किसानका समस्या समाधान गर्न माग गरिन् । सांसद रञ्जित कर्णले सरकारले सुशासनका नाममा ट्रेड युनियन खारेज गर्न नहुनेमा जोड दिँदै सरकारले यो विषय तत्काल सच्च्याउन माग गरे ।

सांसद रामकुमारी झाँक्रीले सुशासन र गुणस्तरीय सेवामा नाममा नागरिकलाई तर्साएर शासन गर्न नहुने धारणा राखिन् । उनले कानुन विपरित काम गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । सांसद रेखाकुमारी झाले नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन नसकेको बताउँदै जनतालाई रोजगारी र विकास दिन सरकारसँग माग दिइन् ।

सांसद रोशनी मेचेले देशको शान्तिसुरक्षा खस्किँदै गएको, धेरै व्यक्तिको हत्या भएको र अनलाइनबाट धेरै ठगी भइरहेको अवस्थामा मुलुकमा शान्तिसुरक्षामा ध्यान दिने गृहमन्त्री नभएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद सम्झना देवकोटाले जेनजी प्रदर्शनका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन् ।

सांसद सोमनाथ पोर्तेलले भारतीय आयल कर्पोरेसन नेपालले पेट्रोलिय पद्धार्थ ल्याउने गरेको र भारतमा भन्दा नेपालमा डिजेल ६७, पेट्रोल ४८ र एलपी ग्यास ५५५ बढी भएर पनि नेपाल आयल निगम घाटामा भएको भन्ने भनाइप्रति सरकारको ध्यानाकर्षण गराए । रासस