दुर्घटनाबाट सुरक्षित हुन हेल्मेटको प्रगोगसम्बन्धी कानुन बन्नुपर्नेमा जोड


काठमाडौँ, ४ जेठ । सवारी दुर्घटनाबाट सुरक्षित हुन नियमित रूपमा हेल्मेटको प्रयोग गर्नुपर्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिबीच छलफल भएको छ ।

अन्तरराष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) तथा एआइपी फाउण्डेसनको सहयोगमा ‘हेड्सअप’ अभियानअन्तर्गत हेल्मेट कानुन तथा मापदण्डसम्बन्धी आयोजित ‘पोलिसी डाइलग’ कार्यक्रममा हेल्मेट प्रयोगसम्बन्धी कानुन बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा विभिन्न सरकारी निकाय, स्वास्थ्य क्षेत्र, सडक सुरक्षा विज्ञ, प्राविधिक क्षेत्र, युवा, बालबालिका तथा सरोकार भएका संस्थाका प्रतिनिधि गरी करिब ६० जनाको सहभागिता थियो । नासा नेपालका परियोजना संयोजक सुवास भट्टराईले नासाको सडक सुरक्षासम्बन्धी गतिविधि तथा हाल सञ्चालन भइरहेको ‘हेड्सअप’ अभियानबारे जानकारी गराए ।

कार्यक्रममा अर्थोपेडिक सर्जन डा सतिशप्रसाद वर्नवालले सडक दुर्घटना र हेल्मेटको प्रयोग विषयमा प्रस्तुति दिँदै दुई पाङ्ग्रे सवारीसाधनको दुर्घटनाबाट हुने गम्भीर चोटपटक तथा जोखिम न्यूनीकरणमा गुणस्तरीय हेल्मेट प्रयोगको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

नेपाल प्रहरीको राजमार्ग एण्ड ट्राफिक व्यवस्थापन महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीले विद्यमान कानुनी व्यवस्था तथा सडक सुरक्षामा सरोकार भएका निकायका प्रतिनिधिको भूमिकाबारे प्रस्तुति दिए । सडक सुरक्षा विज्ञ भगवती सेडाईंले नेपालमा विद्यमान हेल्मेट कानुन, राष्ट्रिय हेल्मेट मापदण्ड कार्यान्वयनको आवश्यकता तथा चालक र पछाडि बस्ने दुवैले अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्नुपर्ने व्यवस्थाको कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

काठमाडौँ विश्वविद्यालयका प्राडा ड्यानियल तुलाधर, राष्ट्रिय सडक सुरक्षा परिषद्का सरोजकुमार प्रधानलगायत सहभागीले हेल्मेटको गुणस्तर, सडक सुरक्षा नीति तथा प्रभावकारी कार्यान्वयनका विषयमा आ(आफ्ना धारणा राखेका थिए । नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले सरकारले सडक सुरक्षा तथा डबल हेल्मेटको विषयमा पर्याप्त प्राथमिकता नदिएको उल्लेख गर्दै प्रभावकारी नीति बनाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रमको समापनमा १५ जना बालबालिकालाई नासा नेपालका अध्यक्ष दशरथ रिसाल, सल्लाहकार ठाकुरप्रसाद न्यौपाने, डा शिवजी यादव, हिसान नेपालका महासचिव रामहरि सिलवाल, कार्यक्रमका वक्तालगायतले ‘चाइल्ड हेल्मेट’ हस्तान्तरण गरेका थिए । नासा नेपालले यस अभियानअन्तर्गत राष्ट्रिय हेल्मेट मापदण्डको कार्यान्वयन, डबल हेल्मेटको प्रयोग र चाइल्ड हेल्मेट प्रवर्द्धनसम्बन्धी जनचेतना तथा बहस अभियान सञ्चालन गरिरहेको छ । रासस