घरभित्रै पुरुषको हत्या, श्रीमती प्रहरी नियन्त्रणमा


काठमाडौं, जेठ ४ । कञ्चनपुरमा घरभित्रै एक पुरुषको हत्या भएको छ । दोधाराचाँदनी नगरपालिका–५ का ४५ वर्षीय लीलाराम सुनारको हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार सोमबार बिहान घरभित्र सुनार मृत फेला परेको जानकारी उनकै ३६ वर्षीया श्रीमती यशोदा सुनारले गराएकी थिइन् । सुनारको धारिलो हतियार प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्सपेक्टर थापाले बताए । सुनारको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको पाइएको छ ।

सोधपुछका लागि मृतककी श्रीमती यशोदालाई नियन्त्रणमा लिइएको थापाले बताए । उनका अनुसार घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।