काठमाडौं, जेठ ५ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेको १६ वटा उजुरीमाथि छलफल गर्दै संसदीय सुनुवाइ प्रक्रिया आजै अघि बढाइने भएको छ।
प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध परेको उजुरी खोल्नका लागि अहिले बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । यसअघि गत वैशाख २६ गते बसेको समितिको बैठकले १० दिनको समयसीमा दिएर उजुरी आह्वान गरेकोमा हिजो सोमबार कार्यालय समय भित्र १६ वटा उजुरी दर्ता भएका हुन्।
संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार आजको समितिको बैठकमा उजुरी खोल्ने र त्यसलाई सांसदहरूबीच वितरण गर्ने कार्य हुनेछ। त्यस्तै, बिहान १० बजेपछि उजुरीकर्तासँग छलफल गरिने छ। त्यसपछिको बैठक निरन्तर चल्ने र सोही क्रममा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइने छ ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषद्ले वैशाख २४ गते चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो । लगत्तै वैशाख २६ गते सर्वसाधारणका लागि आह्वान गरिएको १० दिने समयसीमाभित्र शर्माविरुद्ध आह्वान गरिएको उजुरीमा सोमबारसम्म १६ वटा उजुरी दर्ता भएका छन्। समितिले उनको नाम आजै निर्णयार्थ पेस गरी अनुमोदन गर्ने तयारी गरेको छ। संसदीय सुनुवाइको इतिहासमा २०७५ सालमा तत्कालीन प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबाहेक अन्य कोही पनि अस्वीकृत भएका छैनन्।
हालको संसदीय सुनुवाइ समितिमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमत रहेको छ । त्यसकारण डा. शर्माको सिफारिस अस्वीकृत हुने सम्भावना न्यून छ।




प्रतिक्रिया