संसदीय सुनुवाइ आजै सक्न रास्वपा सांसदको अडान


काठमाडौं, जेठ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अनावश्यक ढिलाइ नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अघि बढाउन माग गरेका छन् ।

अहिले जारी संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, सांसद डा. लेखजंग थापा र राजीव खत्रीले सुनुवाइ प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गरेका छन् । प्रमुख सचेतक बुर्लाकोटीले प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रियालाई ढिलाइ नगरी अघि बढाउनुपर्नेमा जोड दिए । उनले कार्यतालिकाअनुसार उजुरीकर्तासँग छलफल र कार्ययोजना सुन्ने कामलाई तीव्रता दिनुपर्ने बताएका छन् ।

उनले समितिमा प्राप्त उजुरीमध्ये कतिपयमा गम्भीर विषय रहेको उल्लेख गर्दै ती विषयमा छलफलमार्फत स्पष्टता आवश्यक रहेको धारणा राखे । सुनुवाइको नतिजा पहिल्यै तय भइसकेको भन्ने टिप्पणीको खण्डन गर्दै उनले वस्तुनिष्ठ छलफलका आधारमा मात्र निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए।

बुर्लाकोटीले प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै जहाँ समस्या देखिन्छ, त्यहीँ समाधान खोज्न समितिलाई आग्रह गरे। उनले भने, “हामी सबैको समय व्यस्त छ, त्यसैले समयको सदुपयोग गर्दै आजै उजुरीकर्तासँग छलफल र कार्ययोजना सुन्ने काम अघि बढाऔँ । आवश्यक परे मात्र थप समयबारे निर्णय गरौँ, तर प्रक्रिया नरोकिनुहोस् ।”

सांसद डा. लेखजंग थापाले प्रस्तावित पदाधिकारीको कार्ययोजना कागजमै सीमित नभई व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए। उनले मुद्दा फस्र्यौटमा तीव्रता, डिजिटलाइजेशनको प्रयोग र न्यायिक कार्यसम्पादन सुधारका पक्ष सकारात्मक भए पनि कार्यान्वयन महत्त्वपूर्ण हुने बताए ।

उनले संसदीय सुनुवाइ समितिलाई दलीय घेराभन्दा माथि उठेर वस्तुनिष्ठ निर्णय लिन आग्रह गरे। साथै आगामी दिनमा प्रस्तावित उम्मेदवारको कार्ययोजना कम्तीमा एक दिनअघि उपलब्ध गराउनुपर्ने माग गरे। थापाले भने, “कार्ययोजनामा उल्लेख गरिएका बुँदाहरू राम्रा छन्, तर कार्यान्वयन कति हुन्छ भन्ने प्रश्न महत्त्वपूर्ण हो । त्यसैले कार्यान्वयन पक्षलाई गम्भीरतापूर्वक हेर्नुपर्छ ।”

त्यस्तै सांसद राजीव खत्रीले सुनुवाइ प्रक्रिया ‘फास्ट ट्रयाक’ मा अघि बढाउनुपर्नेमा जोड दिए। उनले उजुरीकर्तासँग प्रत्यक्ष छलफल र क्रस–प्रश्न गर्दा विषयवस्तुको गहिराइमा पुग्न सहज हुने र समय बचत हुने बताएका छन् ।

उनले भने, “हामीसँग संसद्को अधिवेशन पनि चलिरहेको छ र समितिको काम पनि उत्तिकै महत्त्वपूर्ण छ । यस्तो अवस्थामा २४ घण्टालाई ३६ घण्टा बराबरको गतिमा काम गर्नुपर्ने अवस्था छ ।” खत्रीले सत्ता र प्रतिपक्षबीच दृष्टिकोण फरक भए पनि मुख्य उद्देश्य समयमै निष्कर्षमा पुग्नु नै हुनुपर्नेमा जोड दिए ।