काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले कायममुकायम प्रधानन्यायाधीशको आदेश अवज्ञा गरेको भन्दै नेपाल बार एसोसिएसनले आज लालटिन बालेर विरोध प्रदर्शन गर्ने भएको छ।
अदालत प्रशासनमा ‘स्वेच्छाचारिता’ बढेको र न्यायको खोजीका लागि भन्दै बारले दिउँसो आफ्नो प्राङ्गणमा लालटिन बाल्न लागेको हो। प्रशासनिक अवरोध र संसद्मा विचाराधीन मुद्दामाथि भएको छलफलको विरोध गर्दै बारले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ।
कामू प्रधानन्यायाधीशले संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ र सर्वोच्च अदालत नियमावली २०७४ बमोजिम दरपीठ भएका निवेदनहरू दर्ता गर्न आदेश दिए पनि प्रशासनले त्यसलाई अस्वीकार गरेको बारको दाबी छ। बारले प्रशासनको उक्त कार्यलाई ‘अप्राकृतिक र ऐतिहासिक भूल’ को संज्ञा दिएको छ।
यसैगरी, अदालतमा विचाराधीन रहेका मुद्दाका विषयमा संसद्मा छलफल भएको प्रति पनि बारले कडा आपत्ति जनाएको छ।




प्रतिक्रिया