काठमाडौँ, ५ जेठ । पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँसहित ललितपुर, झापा, मोरङ, धनुषा, बारा, दाङ, डडेलधुरा र अछाममा आगलागीका घटना भएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार काठमाडौँमा मात्रै तीन ठाउँमा रामघाट, चन्द्रागिरि र तीनचुलीमा आगालागीका घटना भएको छ । तीनचुलीस्थित सिन्धुली खाजा घरमा ग्यास चुहिएर भएको आगलागीमा एक जना घाइते भएका छन् ।
यसैगरी, दाङको गिठेपानीमा रहेको एक किराना पसल र मासु पसलमा आगलागी हुँदा एकजना घाइते भएका छन् । अछामको मङ्गलसेनस्थित घर नजिकै खेतमा बालिएको आगोमा पर्न गरी एक दुई वर्षीय बालिकाको मृत्यु भएको प्राधिकरणले जानकारी दिएको छ ।
चौबिस घण्टामा १८ विपद, तीनको मृत्यु
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा आगालगीसहितका १८ वटा विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
अछाममा आगलागीबाट एक, बारामा सर्पले डसेर एक र डोल्पामा लेक लागेर एक जनाको मृत्यु भएको हो । यसैगरी, विभिन्न जिल्लामा विपद्जन्य घटनामा परेर पाँच जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार ती विपद्का घटनाबाट ७७ लाख ९२ हजार बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । सबैभन्दा बढी बाराको जितपुरमा दाल बोकेको लु२ख ५९४१ नम्बरको ट्रकमा तार सर्ट भई आगलागी हुँदा ७० लाख बराबरको क्षति भएको प्राधिकरणले आज सार्वजनिक गरेको क्षतिको विवरणमा उल्लेख छ । रासस




प्रतिक्रिया