काठमाडौं, जेठ ७ । उपभोक्ता अदालतले जहाजभित्र तातो कफीले पोलेर घाइते भएकी प्रिती थापालाई क्षतिपूर्ति तिर्न कतार ऐयरवेजका नाममा फैसला गरेको छ ।
अदालतका अध्यक्ष तथा न्यायाधीश दिवाकर भट्ट सहित सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले कतार एयरवेजलाई मोन्ट्रियल कन्भेन्सनअनुसार २ करोड ४१ लाख ५२ हजार ४०६ रुपैयाँ तथा उपभोक्ता संरक्षण ऐनअनुसार थप २० लाख रुपैयाँ गरी कुल २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।
प्रितीले सन् २०२३ मे २६ मा कतार एयरवेजको अधिकारप्राप्त टिकट एजेन्सी प्रोफिसिएन्ट ट्राभल्स प्रालिमार्फत काठमाडौं–दोहा–बोस्टन तथा बोस्टन–दोहा–काठमाडौं रुटको दुईतर्फी हवाई टिकट खरिद गरेकी थिइन् । सोही टिकट सम्झौताअनुसार उनी सन् २०२३ जुन १० मा काठमाडौंबाट दोहा हुँदै अमेरिकाको बोस्टन पुगेकी थिइन् ।
एक महिनापछि सन् २०२३ जुलाई १० मा उनी बोस्टनबाट कतार एयरवेजको क्युआर–७४४ विमानमार्फत दोहा हुँदै क्युआर–६४८ विमानबाट काठमाडौं फर्किने क्रममा थिइन् । बोस्टनस्थित एडवार्ड एल लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानमा यात्रा गरिरहेकै बेला चालक दलका सदस्यले उनलाई अत्यधिक तातो कफी दिएका थिए ।
उक्त कफी उनको पेट, तिघ्रा तथा संवेदनशील अंगहरूमा पोखिएपछि उनी गम्भीर रूपमा घाइते भएकी थिइन् । विमान कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उनलाई विमानस्थलस्थित आकस्मिक स्वास्थ्य सेवामा लगेर प्राथमिक उपचार गरिएको थियो । उपचारका क्रममा उनको चोट ‘सेकेन्ड डिग्री बर्न’ भएको पुष्टि भएको थियो ।
त्यसपछि काठमाडौं फर्किएपछि उनी कीर्तिपुर बर्न अस्पतालमा समेत भर्ना भएकी थिइन् । जलनका कारण उनले लामो समय शारीरिक तथा मानसिक पीडा भोग्नुपरेको भन्दै उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सनअनुसार क्षतिपूर्ति माग गरेकी थिइन् । पीडित प्रिती थापाले सुरुमा २० लाख अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
फैसलाको पूर्णपाठ आएपछि कतार एयरवेजले क्षतिपूर्ति तिर्ने वा ३० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्ने छ ।




प्रतिक्रिया