घेराबन्दीमा ओली : पदकै जिद्दीमा अडिने कि मार्गप्रशस्त गरेर राजनेता बन्ने ?


काठमाडौँ । नेकपा एमालेभित्र लामो समयदेखि भुसको आगोझैं सल्किएको असन्तुष्टि अन्ततः भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीकै निवासमा पुगेर विस्फोट भएको छ। पार्टीको ११ औँ महाधिवेशन सकिएको पाँच महिना नपुग्दै एमाले इतिहासकै गम्भीर आन्तरिक विद्रोहको मोडमा आइपुगेको छ।

फागुन २१ को चुनावी पराजयको पृष्ठभूमिमा बसेको एमाले सचिवालय बैठकमा उपमहासचिव योगेश भट्टराईले अध्यक्षको राजीनामा माग्नु र त्यसलाई उपाध्यक्ष विष्णु पौडेल तथा महासचिव शंकर पोखरेल जस्ता नेताहरुले ढाडस दिनुले एमालेभित्र सत्ता समीकरण मात्र होइन, पुस्तान्तरणको बहस कति पेचिलो बनेको छ भन्ने स्पष्ट पार्छ ।

१९ सदस्यीय सचिवालयमा बहुमत सदस्यहरू ओलीको बहिर्गमनको पक्षमा उभिनु केवल एउटा पार्टीभित्रको गणितीय थिचोमिचो मात्र होइन। यो नेपाली राजनीतिमा बदलिँदो जनसाङ्ख्यिक मनोविज्ञान र जेनजीको आक्रोशलाई बुझ्न नसक्दा एउटा परम्परागत कम्युनिस्ट पार्टीले भोग्नुपरेको अस्तित्वको संकट हो।

११ औँ महाधिवेशनबाट निर्वाचित हुनासाथ ओलीले आफूलाई पुनः भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए। तर, फागुन २१ को निर्वाचन परिणामले ओलीको त्यो दम्भलाई नराम्रोसँग तोडिदियो। निर्वाचनमा ८५ जना केन्द्रीय सदस्यहरूले लज्जास्पद हार व्यहोर्नु र उम्मेदवारहरूले आफ्नो चुनावी ब्यानरमा अध्यक्ष ओलीको फोटोसमेत राख्न डराउनुले स्पष्ट पारेको थियो कि नेपाली राजनीतिमा ओलीको राष्ट्रवादी भाष्यको जुन ओज थियो, त्यसको औचित्य सकिइसकेको छ।

सबैभन्दा चाखलाग्दो कुरा त के छ भने चुनावी भाषणमा ओलीलाई भाषण गर्न बोलाउँदा उल्टै मत घट्ने डर एमालेका उम्मेदवारहरूमा देखियो। यो नेतृत्वको लोकप्रियताको ग्राफ शून्यमा झरेको प्रमाण हो। आफ्ना हठ र पुराना उखान–टुक्काका भरमा मात्रै नयाँ पुस्ताको भावनालाई सम्बोधन गर्न सकिँदैन भन्ने सत्यलाई स्वीकार गर्न नसक्नु नै अध्यक्ष ओलीको समकालीन राजनीतिको सबैभन्दा ठूलो कमजोरी हो।

यस्तै,  एमाले सत्तामा रहँदा सडकमा सल्केको जेनजी आन्दोलन केवल एक सडक प्रदर्शन मात्र थिएन- त्यो त परम्परागत राजनीतिक दलहरूको सिन्डिकेट, पुराना नेताहरूको सत्तामोह, चरम बेथिति, भ्रष्टाचार र डेलिभरीविहीन राजनीतिक कार्यशैलीविरुद्धको युवा विद्रोह थियो। आजको युवा पुस्तालाई पुराना कम्युनिस्ट दस्तावेज, जेलनेलका गाथा र गुटबन्दीको राजनीतिमा कुनै चासो छैन। उनीहरू त भ्रष्टाचारमुक्त विधिको शासन, रोजगारी, सुशासन र पारदर्शिता मात्र खोजिरहेका छन्।

जब सडकमा जेनजी आन्दोलन चर्किएको थियो, एमाले नेतृत्व त्यसलाई दमन गर्न व्यस्त थियो। त्यही आक्रोशको मतपरिणाम फागुन २१ मा देखियो। आज एमालेका दोस्रो पुस्ताका नेताहरूले राम्रोसँग बुझेका छन् कि ओलीसँगै ओरालो लाग्ने कि नयाँ पुस्तासँग जोडिएर आफ्नो र पार्टीको भविष्य जोगाउने ?

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनले गरेको दोषी ठहरसँगै ओलीको हिरासत बसाई र त्यसपछिको स्वास्थ्य संकटले उनलाई शारीरिक र नैतिक दुवै रूपमा कमजोर बनाएको छ। पार्टीको यो दुर्दशा हुँदा पनि नेतृत्व हस्तान्तरण गर्न अझै अनिच्छुक रहँदा एमालेभित्रै ओली थप रक्षात्मक बनेको देखिन्छ।

यसैबीच, एमाले नेताहरु विष्णु पौडेल र शंकर पोखरेललगायतले ओली हटाउन तीनवटा रणनीति तय गरेको संस्थापन इतर पक्षका नेताहरुको भनाइ छ –

पहिलो, ओलीलाई स–सम्मान बहिर्गमन गर्न लगाएर पार्टीको अभिभावकीय भूमिकामा रहन सुझाउने । यसो हुन नसके दोस्रोमा, केन्द्रीय कमिटीमा बहुमत पुर्‍याएर ओलीको राजीनामा माग्ने र अन्त्यमा दुवै विकल्प असफल भए विशेष महाधिवेशन डाकेर वैधानिक रूपमै नेतृत्व परिवर्तन गर्ने।

१९ सदस्यीय सचिवालयमा अल्पमतमा परिसकेपछि पनि ओली अझै डटेर सामना गर्ने र उल्टै असन्तुष्टहरूलाई कारबाही गर्ने धम्की दिइरहेका छन्। यो उनको राजनीतिक अहंकारको निरन्तरता मात्र हो। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको उनको बाक्लो परामर्शले पनि उनी कति भयभीत छन् भन्ने देखाउँछ तर बदलिँदो जनचाहनाविपरीत ओलीसँग सहकार्य गर्ने मनस्थितिमा भण्डारी नरहेको उनीनिकटका नेताहरु बताउँछन् ।

ओलीले नेपाली राजनीतिमा एउटा कालखण्डको नेतृत्व गरे, राष्ट्रियताको सवालमा केही अडानहरू राखे, त्यो इतिहासमा दर्ज भइसकेको छ। तर, अब उनको समय सकिएको छ। विशेष गरी जेनजी वा नयाँ पुस्ताका युवाहरू, जो परम्परागत दलीय ह्विप मान्दैनन् र सोझै प्रश्न गर्छन्- उनीहरूका अगाडि एमालेलाई पुनः स्थापित गर्ने हो भने पार्टीको नेतृत्व परिवर्तन गर्न जरुरी छ। फागुन २१ को आम निर्वाचनले पनि एमाले र अझ विशेषगरी ओलीलाई राम्रैसँग सबक सिकाइसकेको छ ।

अब छिट्टै स्थानीय तहको निर्वाचन हुनेवाला छ। यस्तो बेला एमाले आन्तरिक कलहमा रुमल्लिनु भनेको पार्टीलाई झनै कमजोर बनाउनु हो ।

एमालेलाई फेरि देशको पहिलो शक्ति बनाउने र नयाँ पुस्ताको भरोसा जित्ने हो भने ओलीका लागि सम्मानजनक बहिर्गमन नै सबैभन्दा उत्तम र अचुक औषधि हो। इतिहासले ओलीलाई एउटा साहसी तर जिद्दी नेताका रूपमा सम्झिसकेको छ ।

अब उनले आफ्नै जिद्दीका कारण पार्टीको भविष्य समाप्त पारेको कलङ्क बोक्ने कि स्वेच्छाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर कुशल राजनेता बन्ने ? रोजाइ ओलीकै हातमा छ। अब समयले उनलाई धेरै पर्खिने धैर्य राख्ने छैन। त्यसैले युवाको चाहना र एमालेको रक्षाका लागि ओलीले मार्गप्रशस्त गर्नु नै आजको अपरिहार्य आवश्यकता हो।