फिर्के खोला क्षेत्रमा चल्यो पोखरा महानगरको डोजर


काठमाडौँ । पोखरा महानगरपालिकाले फिर्के खोलाको क्षेत्राधिकार मिचेर बनाइएका अवैध संरचनाहरू भत्काउन सुरु गरेको छ । महानगरले दिएको ३५ दिने सार्वजनिक सूचनाको समयावधि सकिएपछि डोजर चलाएको हो ।

वर्षायाम सुरु भएसँगै बाढी र डुबानको जोखिम बढ्दै गएकाले खोलाको प्राकृतिक बहाव कायम राख्न र संरक्षण गर्न यो कदम चालिएको महानगरले जनाएको छ । फिर्के खोलाको मिचिएको जमिन फिर्ता ल्याउने अभियानको अनुगमन र नेतृत्व गर्न पोखरा महानगरका प्रमुख धनराज आचार्य स्वयं फिल्डमा खटिएका छन् ।

लामो समयदेखि फिर्के खोला किनारका सार्वजनिक जग्गा र खोलाकै बहाव क्षेत्रमा विभिन्न पक्की तथा कच्ची संरचनाहरू निर्माण गरी अतिक्रमण गरिँदै आएको थियो । स्थानीय प्रशासन र महानगरको पटक–पटकको आग्रहलाई बेवास्ता गरिएपछि महानगरपालिका आफैं डोजर र सुरक्षाकर्मीसहित फिल्डमा उत्रिएको हो ।