एमालेले सरकारका गलत क्रियाकलापविरुद्ध भण्डाफोर अभियान चलाउने, पार्टी पुनर्गठन र निर्वाचनको समीक्षा गर्न कार्यदल गठन


काठमाडौं, जेठ १० । नेकपा (एमाले)ले सरकारका गलत क्रियाकलापविरुद्ध विरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले सरकार स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकाल्दै सदन र सडकमा विरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टी उपमहासचिव लेखराज भट्टले सरकारका स्वेच्छाचारी क्रियाकलापका विरुद्ध आवश्यकताअनुसार सदन र सडकमा विरोध तथा भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले सरकार लोकतन्त्रको बाटोबाट विचलित हुँदै स्वेच्छाचारी र अधिनायकवादी बाटोतर्फ अग्रसर हुँदै गइरहेको निष्कर्षसमेत निकालेको छ । एमालेले पछिल्लो समय मुलुकमा बढ्दै गएको महंगी र अध्यादेशको समेत भत्र्सना गरेको छ ।

त्यस्तै, सचिवालय बैठकले पार्टी पुनर्गठन र निर्वाचनको समीक्षालगायतका विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । तीन दिनदेखि जारी सचिवालय बैठकले पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविलाल विश्वकर्मा र सात वटै प्रदेशका इन्चार्ज सहभागी छन् । कार्यदललाई पार्टीको समग्र समीक्षा प्रतिवेदन बुझाउन एक महिनाको समय सीमा तोकिएको छ ।