काठमाडौं, जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले पछिल्ला दिनहरूमा आफूमाथि भइरहेको आलोचनाप्रति असन्तुष्टि जनाएकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आफूमाथि भइरहेको टीकाटिप्पणीलाई “पाखण्डपनको पराकाष्ठा” भएको टिप्पणी गरेकी हुन्। उनका अनुसार अरू व्यक्तिहरू भ्रष्टाचारमा मुछिँदा मौन रहनेहरूले आफूलाई भने “सुन्दर देखिएकै आधारमा” आलोचना गरिरहेका छन्।
उनले लेखेकी छन्, “मलाई पछिल्ला दिनहरूमा आएका आलोचनाहरू सुन्दा अनौठो लाग्ने गरेको छ। अरू भ्रष्ट हुँदा केही बोल्न नसक्ने व्यक्तिले मलाई भने केवल सुन्दर देखिएकै आधारमा आलोचना गरिरहेको छ। पाखण्डपनको पराकाष्ठा।”
सांसद भट्टराईले आलोचनाबाट निराश हुनुपर्ने कि आफ्नो सुन्दरताले धेरै ध्यान तानेकोमा आश्चर्य मान्ने भन्ने प्रश्नसमेत गरेकी छन्।उनले अहिले आफू जवाफ दिने ठाउँ अर्थात् संसदमा पुगे पनि पहिले प्रश्न गर्ने नागरिककै ठाउँबाट आएको नबिर्सन आलोचकहरूलाई आग्रह गरेकी छन्। भविष्यमा अन्य नागरिक पनि संसदसम्म पुग्न सक्ने उल्लेख गर्दै उनले विचार र दृष्टिकोण फराकिलो बनाउन सुझाव दिएकी छन्।
देशमा पछिल्ला वर्षहरूमा देखिएको राजनीतिक अवस्था र बेथितिकै कारण नयाँ पुस्ता राजनीतिमा आएको उनको भनाइ छ। युवा पुस्ता चुप लागेर बस्ने नभएको स्पष्ट पार्दै उनले धेरै बोलिरहने प्रवृत्तिमा पनि आफूहरू नपर्ने बताएकी छन्।



प्रतिक्रिया