काठमाडौं, जेठ ११ । महोत्तरीको चर्चित सुजिता ठाकुर हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले १३ आरोपीमध्ये १० जनालाई सफाइ दिएको छ भने मुख्य आरोपी ठहरिएका मृतकका देवर रुपेश ठाकुरलाई जन्मकैदको सजाय सुनाएको छ ।
जिल्ला अदालत महोत्तरीका सूचना अधिकारी एवं श्रेस्तेदार भरतमणि पोखरेलका अनुसार न्यायाधीश तीर्थराज केसीको इजलासले व्यक्ति बेपत्ता तथा ज्यानसम्बन्धी कसुर मुद्दामा उक्त फैसला गरेको हो ।
अदालतबाट सफाइ पाउनेमा कामेश्वर पाण्डे, अञ्जु कुमारी चौधरी, मोहम्मद अदम राइन, किशोरी मण्डल, विनोद मण्डल, नथुनी मण्डल, प्रिया ठाकुर, रामसखी देवी, पतिराम ठाकुर र भोगी महतो रहेका छन् ।
यस्तै आरोपी उत्तम खत्वे र दुखी महतो नुनियाको हकमा मुद्दा मुल्तबी गरिएको अदालतले जनाएको छ ।
अदालतले मृतक सुजिता ठाकुरका देवर रुपेश ठाकुरलाई जन्मकैदको सजाय सुनाउँदै हकवालालाई क्षतिपूर्तिवापत ५० हजार रुपैयाँ उपलब्ध गराउन तथा पीडित राहत कोषमा दुई हजार ८०० रुपैयाँ जम्मा गर्न आदेश दिएको छ ।
लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा गाउँ निवासी मुकेश ठाकुरकी २६ वर्षीया पत्नी सुजिता ठाकुर २०७८ जेठ २० गते रातिदेखि बेपत्ता भएकी थिइन् । अनुसन्धानका क्रममा देवर रुपेश ठाकुरसहितका व्यक्तिले हत्या गरी शव लुकाएको खुलेको थियो ।
प्रहरीका अनुसार हत्या पछि शव सुरुमा घरको फ्रिजमा राखिएको, त्यसपछि गाउँ नजिकैको मनरहिया वन क्षेत्रमा गाडिएको र पछि पुनः निकालेर पेट्रोल पम्पको सेफ्टी ट्याङ्कीमा राखिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो । घटनाले त्यसबेला देशव्यापी चर्चा पाएको थियो ।



प्रतिक्रिया