काठमाडौँ । नेपाली राजनीति र सामाजिक रूपान्तरणको इतिहासमा ‘नागरिक समाज’ शब्दले सधैं एउटा विशिष्ट अर्थ र वजन बोक्दै आएको छ। राज्य सत्ता निरंकुश बन्दा वा दलहरू बाटो बिराएर स्वार्थको रूखमुनि सुस्ताउँदा, नागरिकको विवेक बनेर सडकमा ओर्लने जमात नै नागरिक समाज हो। इतिहासको गतिलाई नियाल्ने हो भने नेपालमा संगठित नागरिक समाजको प्रस्थानविन्दु वि.सं. २०४६ र विशेषगरी २०६२–६३ को जनआन्दोलन ताका उत्कर्षमा पुगेको देखिन्छ।
त्यसबेला कृष्ण पहाडी, देवेन्द्रराज पाण्डे, मथुराप्रसाद श्रेष्ठलगायतका व्यक्तित्वहरूले नागरिक आन्दोलनको नेतृत्व गरे। दलहरू प्रतिबन्धित वा मूच्र्छित अवस्थामा रहेका बेला लोकतन्त्र पुनर्बहालीका लागि नागरिक समाजले नै जनताको चेतनालाई ब्युँझाउने काम गर्यो। सडकमा बजारिएका लाठी र अश्रुग्याँसको प्रवाह नगरी जनता र लोकतन्त्रको पक्षमा नागरिक समाजले उठाएको त्यो बुलन्द आवाजकै जगमा आजको लोकतन्त्र र गणतन्त्र उभिएको हो।
तर, समय बदलिएको छ। हिजोको त्यो पुराना पुस्ताको नागरिक आन्दोलन अचेल केही सुस्ताए जस्तो, केही अमूर्त जस्तो र भुइँमान्छेका दैनिक मुद्दाहरूभन्दा अलि टाढा पुगेजस्तो भान आम जनतालाई भइरहेको थियो।
ठ्याक्कै यही शून्यताका बीच जेठ १० गते काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानको खचाखच भरिएको हलबाट नेपाली सार्वजनिक वृत्तमा एउटा नयाँ तरङ्ग पैदा भएको छ। त्यो तरङ्गको केन्द्रमा छन्— चर्चित पत्रकार ऋषि धमला र उनकै नेतृत्वमा नवगठित– ‘स्वतन्त्र नागरिक अभियान नेपाल’।
जेठ १० गते आइतबार प्रज्ञा प्रतिष्ठानको हलमा दृश्य निकै रोचक र अर्थपूर्ण थियो। देशका मूर्धन्य बौद्धिक व्यक्तित्वहरू, पूर्वप्रशासक र नागरिक समाजका पुराना हस्तीहरू एउटै मञ्चमा थिए। उनीहरू सबैको साझा निष्कर्ष थियो— ‘अबको नागरिक आन्दोलनको नेतृत्व ऋषि धमला जस्तो गतिशील, ऊर्जाशील र चौबीसै घण्टा जनताका मुद्दामा भिज्न सक्ने व्यक्तित्वले लिनुपर्छ ।’
प्रज्ञा प्रतिष्ठानको मञ्चबाट बोल्दै नागरिक आन्दोलनका प्रणेता कृष्ण पहाडीले ऋषि धमलाको साहस र जनतासँग जोडिने शैलीको प्रशंसा गरे। उनले भने, ‘ऋषि धमला भनेको चौबीसै घण्टा एक्सनमा रहने र देशका कुनाकाप्चाका नागरिकको पनि दुःख बुझ्ने मान्छे हो। हिजो हामीले एउटा कालखण्डमा नेतृत्व गर्यौँ, अब यो देशलाई धमला जस्तै जुझारु र सबै वर्गलाई समेट्न सक्ने साझा नागरिक अभियन्ताको खाँचो छ।’
पूर्वमुख्यसचिव विमल कोइरालाले धमलाको व्यवस्थापकीय क्षमता र जनस्तरको पकडलाई जोड दिँदै देशको बिग्रँदो सुशासन सुधार्न यो स्वतन्त्र नागरिक अभियान नेपाल बलियो दबाब समूह बन्नुपर्ने सुझाव दिए।
यस्तै, पूर्वप्रशासक कुमार दाहाल र विश्लेषक रन्जन खनालले ऋषि धमलाको व्यक्तित्वको जनप्रियताको चर्चा गर्दै उनी बौद्धिक विमर्शमा मात्र सीमित रहने नेता नभई भुइँमान्छेको दुःखमा प्रत्यक्ष ओर्लने नेता र अभियन्ता भएको टिप्पणी गरे।
त्यसैगरी, आफ्ना कडा टिप्पणीका लागि प्रख्यात प्रा. डा. सुरेन्द्र केसीले धमलाको ऊर्जा र निष्ठाको तारिफ गर्दै भने, ‘ऋषि धमलाको जस्तो काम गर्ने हुट्हुटी र आँट कसैमा छैन। दलहरूको विकृतिविरुद्ध स्वतन्त्र नागरिक अभियान आम सर्वसाधारणको भरोसाको केन्द्र बन्नुपर्छ र धमला यसका लागि योग्य कमाण्डर हुनेमा विश्वस्त छु ।’
अहिलेको समय जेन्जी अर्थात् नयाँ पुस्ताको हो। यो पुस्ता परम्परागत, ढिलासुस्ती, कोरा सैद्धान्तिक र अमूर्त आदर्शवादी कुरामा विश्वास गर्दैन। उनीहरूलाई तत्काल परिणाम चाहिन्छ । जेनजी पुस्ताका युवाहरू प्रविधि र द्रुत संवाद मन पराउँछन्। पछिल्लो समय जेनजी पुस्तामा पनि लोकतन्त्र र राजनीतिक परिवर्तनप्रति अभिरुचि निकै बढेर गएको छ। यस्तो बेला सधैं सामाजिक सञ्जालको केन्द्रमा रहने, युवाहरूको भाषा बुझ्ने र उनीहरूसँग अपडेट भइरहने चर्चित पत्रकार ऋषि धमलाको अध्यक्षतामा नागरिक समाज खुल्नु आफैंमा एउटा ऐतिहासिक संयोग र खुसीको कुरा हो।
ऋषि धमलाले अगुवाइ गरेको स्वतन्त्र नागरिक अभियान भुइँमान्छेको आवाज बन्न सकोस् भन्ने अपेक्षा आम सर्वसाधारणको छ । यस्तै, यो अभियानले गाउँका किसान, शहरका गरिब मजदुर, मिटरब्याज पीडित, बेरोजगार युवा, विदेशमा अलपत्र परेका नेपाली नागरिक र उत्पीडित वर्गको प्रत्यक्ष आवाज बोक्नुपर्नेमा पनि बुद्धिजीवीहरुले जोड दिएका छन्।
त्यस्तै, जेन्जी पुस्तालाई मार्गदर्शन गर्न सक्नुपर्ने र राजनीतिप्रति निराश बन्दै गएका युवालाई लोकतान्त्रिक मूल्य–मान्यता र नागरिक दायित्व बुझाउँदै उनीहरूको ऊर्जालाई देश निर्माणमा जोड्न विशेषतः ऋषि धमलाले प्रत्यक्ष पहल गर्नुपर्नेमा पनि बुद्धिजीवीहरुले जोड दिएका छन् । मिडियामा सधैँ तिखो प्रश्न गर्ने आप्mनो शैलीलाई अब अषि धमलाले राज्यका अंगहरूमा हुने भ्रष्टाचार, ढिलासुस्ती र बेथितिविरुद्ध केन्द्रित गर्नुपर्ने खाँचो देखिएको छ ।
यस्तै, बालेन्द्र शाह नेतृत्वको वर्तमान रास्वपा सरकार र प्रम बालेनको कार्यशैलीप्रति स्वतन्त्र नागरिक अभियानले निकै सन्तुलित र परिपक्व धारणा राख्न जरुरी देखिन्छ। बालेन युवा पुस्ताका आशा र उदीयमान शक्तिका प्रतीक हुन्। त्यसैले, बालेन सरकारले गर्ने जनमुखी काम, कानुनको पालना र शहर सुधारका सकारात्मक प्रयासहरूलाई यो अभियानले खुला हृदयले समर्थन गर्नुपर्छ।
तर, नागरिक समाजको धर्म नै खबरदारी गर्नु हो। यदि बालेन सरकार कतिपय ठाउँमा एकलौटी ढंगले चल्न खोजेमा– जस्तो ः सुकुम्वासी वा साना व्यवसायी जस्ता कमजोर वर्गको मानवअधिकार र जीविकोपार्जनमाथि संवेदनशील नभएमा यो अभियानले निर्धक्क भएर खबरदारी गर्नुपर्छ। बालेन सरकारलाई घेराबन्दीबाट जोगाउने र ट्र्याक बाहिर जान नदिने एक सच्चा मार्गदर्शकका रूपमा स्वतन्त्र नागरिक अभियान अघि बढ्नुपर्छ।
हाम्रो देशमा जनताले धेरैका भाषण बढी नै सुने, सिद्धान्त पनि धेरै नै पढे। तर, जनताका सुख–दुःखमा चौबीसै घण्टा उपलब्ध हुने, पहुँच नभएकाहरूको आवाजलाई राज्यको माथिल्लो निकायसम्म पुर्याइदिने र साझा चौतारीको रूपमा काम गर्ने नेतृत्व पाउन सकेका थिएनन्। पत्रकारिताको लामो कालखण्डमार्फत प्रत्येक नेपालीको घरको बैठक कोठासम्म पुगेका वरिष्ठ पत्रकार ऋषि धमला अब एउटा नयाँ भूमिकामा उदाएका छन्।
दिग्गजहरूको साथ, नयाँ पुस्ताको भरोसा र भुइँमान्छेको मुद्दा बोक्ने धमलाको यो नयाँ संकल्पले स्पष्ट पार्छ— ऋषि धमला अब केवल एउटा पत्रकार मात्र रहेनन्, नेपाली नागरिक समाजको नयाँ मियो र आम नागरिकको साझा नेता बन्ने दिशामा उनले बलियो कदम चालिसकेका छन्। त्यसैले ऋषि धमलाले नेतृत्व गरेको स्वतन्त्र नागरिक अभियान नेपाली नागरिक आन्दोलनको इतिहासमा एउटा नयाँ र सुनौलो अध्याय बन्ने निश्चित छ।



प्रतिक्रिया