शहरी फोहोर व्यवस्थापनमा चीनको नयाँ योजना सार्वजनिक


बेइजिङ, ११ जेठ । चीनले सन् २०३० सम्म शहरी फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ । चीनको आवास तथा शहरी–ग्रामीण विकास मन्त्रालयले सोमबार राजधानी बेइजिङमा आयोजित राष्ट्रिय शहरी फोहोर व्यवस्थापन सम्मेलनका क्रममा उक्त योजना सार्वजनिक गरेको हो ।

यससँगै चीनले मे २५ देखि ३१ सम्म देशव्यापी रूपमा ‘राष्ट्रिय शहरी घरायसी फोहोर वर्गीकरण सचेतना सप्ताह’ पनि सुरु गरेको छ । कार्यक्रममार्फत नागरिकलाई फोहोर छुट्याउने, पुनःप्रयोग गर्ने तथा वातावरणमैत्री जीवनशैली अपनाउने विषयमा जागरूक बनाइने जनाइएको छ ।

मन्त्रालयका अधिकारीहरूका अनुसार चीनले आगामी वर्षहरूमा फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने, पुनर्चक्रणयोग्य सामग्रीको सङ्कलन प्रणाली सुदृढ गर्ने तथा फोहोरको सुरक्षित व्यवस्थापनलाई प्राथमिकतामा राख्नेछ । यसले उच्च गुणस्तरको शहरी विकास र ‘सुन्दर चीन’ निर्माण अभियानलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चीनमा पछिल्लो दशकदेखि फोहोर वर्गीकरण अभियानलाई व्यापक रूपमा अघि बढाइएको छ । विभिन्न नमुना परियोजना, परीक्षण कार्यक्रम तथा जनचेतनामूलक अभियानमार्फत देशभर फोहोर व्यवस्थापन प्रणाली विस्तार गरिएको मन्त्रालयले जनाएको छ ।

हाल चीनका २९७ भन्दा बढी प्रान्तीय स्तरका शहरका लगभग सबै आवासीय क्षेत्रमा फोहोर वर्गीकरण प्रणाली लागू भइसकेको छ । ती शहरहरूले फोहोर व्यवस्थापनसम्बन्धी १९९ वटा स्थानीय नियम तथा १०० भन्दा बढी प्राविधिक मापदण्ड लागू गरिसकेका छन् । यसले शहरी क्षेत्रमा फोहोर छुट्याउने संस्कारलाई संस्थागत बनाएको अधिकारीहरूको भनाइ छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ को अन्त्यसम्म चीनभर १ हजार १ सय ३७ वटा फोहोर जलाउने केन्द्र सञ्चालनमा रहेका छन् । ती केन्द्रहरूको संयुक्त दैनिक प्रशोधन क्षमता ११ लाख ८० हजार टन पुगेको छ । यसले ठूलो परिमाणमा उत्पादन हुने शहरी फोहोरलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न सहयोग पुर्‍याइरहेको छ ।

त्यसैगरी बेइजिङ, झेजियाङ र सान्दोङसहित १५ वटा प्रान्तीय क्षेत्रले कच्चा घरायसी फोहोरलाई जमिनमुनि गाड्ने प्रणाली पूर्ण रूपमा अन्त्य गरिसकेका छन् । ती क्षेत्रमा अहिले फोहोरलाई वर्गीकरण, पुनर्चक्रण तथा जलाउने प्रणालीमार्फत व्यवस्थापन गरिँदै आएको छ ।

चीनले पछिल्ला वर्षहरूमा वातावरण संरक्षण, प्रदूषण नियन्त्रण तथा हरित विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्दै आएको छ । विज्ञहरूका अनुसार फोहोर पुनर्चक्रण दर वृद्धि गर्ने नयाँ लक्ष्यले वातावरणीय प्रदूषण घटाउनुका साथै स्रोतको पुनःउपयोग बढाउने र दिगो शहरी विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । रासस