आज इयू आबद्ध राजदूत तथा मिसन प्रमुखहरूसँग छलफल गर्दै प्रधानमन्त्री


बागमती, १२ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित युरोपेली संघ (इयू)मा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मंगलबार बिहान साढे ११ बजे इयू अन्तर्गत २२ देश तथा दक्षिण–पूर्वी एशियाली मुलकका गरी ३० भन्दा बढी कूटनीतिज्ञसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री कार्यालयकाअनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ।

यस्तै बैठकमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत राखी अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली संघको हवाई सुरक्षा ‘कालोसूची’बाट नेपाललाई हटाउने विषयमा पनि पहल गरिने बताइएको छ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए।