ग्यालेक्सी टीभीका सामान कौडीको भाउमा लिलाम गर्ने चेतावनी


काठमाडौं, जेठ १२ । काठमाडौं महानगरपालिकाले रवि लामिछानेको नेतृत्व र जीबी राईको लगानीमा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजन (गोरखा मिडिया नेटवर्क प्रालि) लाई १५ दिनभित्र बाँकी भाडा रकम तिरेर आफ्ना कार्यालयका सामान हटाउन सार्वजनिक सूचना जारी गरेको छ।

घरधनीको पक्षमा महानगरको न्यायिक समिति र पाटन उच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्दै महानगरले तोकिएको समयभित्र बक्यौता नबुझाए र सामान नउठाए नियमअनुसार ती सामानहरू लिलाम गरिने चेतावनी समेत दिएको छ। सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्तका रूपमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई फरार भएपछि गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालित ‘ग्यालेक्सी फोके टेलिभिजन’ पूर्ण रूपमा अलपत्र परेको छ।

महानगरले तोकिएको समयसीमाभित्र बाँकी बहाल रकम तिरेर सामान नलगेमा कानुनी प्रक्रिया बमोजिम ती सामानहरू लिलाम गरिने चेतावनीसमेत दिएको छ।

यो विवाद काठमाडौं महानगरपालिका वडा नं. ३ का घरधनी मृगेन्द्रप्रसाद मिश्र र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईबीचको हो। राई फरार भएपछि र टेलिभिजन बन्द भएपछि घरधनी मिश्रले ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’ भनी महानगरको न्यायिक समितिमा मुद्दा हालेका थिए।

उक्त मुद्दामा न्यायिक समितिले २०८१ कात्तिक १४ गते नै वादी (घरधनी) को पक्षमा फैसला गर्दै बाँकी घरबहाल रकम र बहाल कर असुल गरी घरजग्गा खाली गराउन आदेश दिएको थियो।

न्यायिक समितिको निर्णय कार्यान्वयन नभएपछि घरधनी मिश्रले उच्च अदालत पाटनको ढोका ढकढक्याएका थिए। उच्च अदालतले २०८२ साउन २८ गते दुई महिनाभित्र फैसला कार्यान्वयन गर्न महानगरपालिकाका नाममा परमादेश जारी गरेपछि मात्र महानगर एक्सनमा उत्रिएको हो ।