काठमाडौँ । काठमाडौँको सत्ता राजनीतिमा फागुन २१ को चुनावी कम्पनपछि झण्डै दुई तिहाइको भारी बहुमतसहित उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी जेठ १८ गते छिमेकी देश भारतको भ्रमणमा जाँदैछन्। भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको औपचारिक निमन्त्रणामा हुन लागेको लामिछानेको दुईदिने भ्रमणलाई नयाँदिल्लीले असाधारण महत्व दिएको छ। परराष्ट्र मन्त्रालय र रास्वपा उच्च स्रोतका अनुसार दिल्लीले सभापति लामिछानेका लागि ‘रेड कार्पेट’ बिछ्याएर भव्य र विशिष्ट स्वागतको तयारी गरिरहेको छ।
पछिल्लो समय नेपाल–भारत सम्बन्धमा कूटनीतिक अनिश्चितता, अविश्वास र संशयका काला बादल मडारिएका बेला हुन लागेको यो भ्रमणको समय र राजनीतिक पृष्ठभूमि निकै अर्थपूर्ण देखिन्छ। विशेषगरी, नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहले नेपालको परम्परागत कूटनीतिक शैलीलाई सिधै चुनौती दिँदै भारतीय र अमेरिकी उच्च अधिकारीहरूसँगको भेटवार्तामा देखाएको चरम उदासीनतापछि दिल्लीले काठमाडौँको सत्ता समीकरणको सबैभन्दा बलियो, निर्णायक र संसद्को शक्तिशाली पार्टी रास्वपाका सभापतिलाई अगाडि सारेको कूटनीतिज्ञहरूको तर्क छ।
नेपाली राजनीतिको स्थापित र परम्परागत चरित्र कस्तो रहिआएको छ भने, काठमाडौँमा नयाँ सरकार गठन हुनासाथ प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणको गन्तव्य नयाँदिल्लीबाटै सुरु हुन्थ्यो। तर, यसपटक प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तिथि अझैसम्म टुंगो लाग्न सकेको छैन। प्रधानमन्त्री शाहले केही समयअघि नेपाल आउने तयारीमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीसँग द्विपक्षीय भेटवार्ता गर्न अनिच्छा देखाएका थिए। गत वैशाख २८ गते तय भइसकेको विदेश सचिव मिश्रीको नेपाल भ्रमण अन्तिम समयमा आएर भारतले रद्द गरिदियो ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जिओ गोरलाई समेत भेट्न प्रधानमन्त्री बालेनले अस्वीकार गरेपछि शक्ति राष्ट्रहरू र खासगरी भारतीय संस्थापन पक्ष निकै झस्किएको थियो।
यस्तै, नयाँदिल्लीमा आयोजित बिग क्याट अलायन्सको अन्तर्राष्ट्रिय सम्मेलन विश्वव्यापी इबोला संक्रमणको त्रासका कारण स्थगित भएपछि नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारतीय विदेशमन्त्री एस जयशंकरसँग हुने भनिएको उच्चस्तरीय साइडलाइन वार्ता पनि टर्न पुग्यो।
यसरी काठमाडौँको नयाँ सत्ता र बालुवाटारसँग कूटनीतिक संवादको ढोका र गति ठप्प भएपछि दिल्लीले संसद्मा झण्डै दुई तिहाइ सिटको साँचो लिएर बसेका, नेपाली राजनीतिको केन्द्रभागमा रहेका उदीयमान र प्रभावशाली नेता रास्वपा सभापति लामिछानेलाई ‘रातो कार्पेट’ ओछ्याएर सिधै नयाँदिल्ली भित्र्याएर कूटनीतिक अन्यौल चिर्ने रणनीति अख्तियार गरेको हो।
नेपालको राजनीतिमा जब–जब संकट आउँछ वा नयाँ राजनीतिक शक्तिको उदय हुन्छ, नयाँदिल्लीले प्रमुख राजनीतिक पात्रहरूलाई बोलाएर सम्बन्ध नवीकरण र कोर्स करेक्सन गर्ने इतिहास निकै पुरानो र निरन्तर छ। दोस्रो संविधानसभा निर्वाचनको ठीक पूर्वसन्ध्यामा दिल्लीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिल्लीमा आमन्त्रण गरेर संवाद गरेको थियो।
इतिहास पल्टाउने हो भने पनि पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, सुशील कोइराला, पुष्पकमल दाहालदेखि मधेसवादी दलका शीर्ष नेताहरूसम्मले दिल्ली पुगेर पटक–पटक दुई देशको राजनीतिक कोर्स र द्विपक्षीय हितमा संवाद गरेका थुप्रै दृष्टान्तहरू छन्।
वर्तमान भारतीय संस्थापन पक्ष नेपालमा दीर्घकालीन राजनीतिक स्थायित्व र द्रुत आर्थिक विकास चाहन्छ, जसले उसको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई समेत अनुकूल बनाओस्। त्यसैले, नयाँ शक्तिका रूपमा उदाएको रास्वपासँग हातेमालो गरेर दुवै देशको भलाइ र सहकार्यमा अघि बढ्ने रणनीति दिल्लीले लिएको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्।
रास्वपा सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरासहित जेठ १८ गते दिल्ली प्रस्थान गर्ने लामिछानेको टोलीले त्यहाँ राजनीतिक भेटघाटलाई तीव्र बनाउने कार्यतालिका छ। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरलगायतका उच्च नेतृत्वसँग एकल तथा सामूहिक भेटवार्ताको तयारी भएको जनाइएको छ। निर्वाचन परिणाम आउनासाथ प्रधानमन्त्री मोदीले लामिछानेलाई फोन गरेरै बधाई दिएकाले पनि यो भेटघाट केवल शिष्टाचारमा मात्र सीमित हुने देखिँदैन। राजनीतिक भेटवार्ताबाहेक लामिछानेले अयोध्याको सांस्कृतिक भ्रमण गर्ने तालिकासमेत तय गरिएको छ, जसले सांस्कृतिक कूटनीतिलाई बल दिनेछ।
यद्यपि, यो भ्रमणमा रास्वपाले उठाउने एजेन्डालाई लिएर कूटनीतिक वृत्तमा अनेकौँ अड्कलबाजी र बहस सुरु भएका छन्। नेपाल र भारतबीचको आर्थिक सम्बन्ध सधैँ नेपालका लागि भारी घाटाको व्यापार बन्दै आएको पृष्ठभूमिमा विज्ञहरूले यो भ्रमणमा निम्न एजेन्डाहरु छुट्न नहुनेमा जोड दिएका छन्-
१. नेपालले वर्षायाममा ठूलो मात्रामा उत्पादन गर्ने विद्युत् भारत र बंगलादेशको बजारसम्म सहज, बाधारहित र दीर्घकालीन रूपमा पुर्याउन कूटनीतिक गाँठो फुकाउनु र भारतको क्रस बोर्डर सहजता सुनिश्चित गर्नु आवश्यक छ।
२. नेपालले भारतबाट आउने सामानलाई विनाकुनै रोकावट सहजै भित्रिन दिने तर नेपालको सामान (कृषिजन्य, जडीबुटी र औद्योगिक उत्पादनहरू) भारत जाँदा अनेकौँ प्राविधिक बहानामा रोकिने यो ‘एकतर्फी कूटनीतिक विभेद’को अन्त्यका लागि रविको तर्फबाट बलियो राजनीतिक लबिङ हुनु आवश्यक छ।
३. दक्षिण एसियाको पर्यावरण र निकुञ्ज संरक्षणको मुद्दा दुवै देशको साझा सरोकारको विषय हो। चितवन र पर्सा वन्यजन्तु आरक्ष भारतको वाल्मीकि टाइगर्स रिजर्भसँग जोडिएका छन्। वन्यजन्तुको अवैध चोरीनिकासी नियन्त्रण र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरबारे ‘साझा दक्षिण एसियाली आवाज’ निर्माण गर्न रविले लबिङ गर्नुपर्छ।
४. रास्वपा डिजिटल जग र सुशासनको नारा दिएर आएको नयाँ पार्टी हो। भारत अहिले डिजिटल गभर्नेन्स, यूपीआई, डिजिटल पेमेन्ट र आईटी क्षेत्रमा विश्वकै नेतृत्वदायी भूमिकामा छ। नेपालको प्रशासनिक झमेला हटाउन र डिजिटल रूपान्तरणका लागि भारतीय प्रविधि र ज्ञान हस्तान्तरणका लागि द्विपक्षीय सम्झौताको एजेन्डा उठाउनु नयाँ पुस्ताको कूटनीतिको राम्रो सुरुवात हुनेछ।
भारतीय संस्थापन पक्षले रविलाई नयाँ, ऊर्जावान् र शक्तिशाली कमाण्डरका रूपमा हेरिरहेको बेला उनले आफ्नो घरेलु लोकप्रियतावादी छविभन्दा माथि उठेर एक परिपक्व, सन्तुलित र दूरदर्शी कूटनीतिज्ञको रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने अग्निपरीक्षा र चुनौती छ। नेपाल र भारतबीच पौराणिक कालदेखि नै रामायण र महाभारतकालीन सांस्कृतिक सम्बन्ध छ। जनकपुर–अयोध्या र पशुपतिनाथ–काशी विश्वनाथको साझा धार्मिक आस्थाले दुई देशका नागरिकलाई अनादिकालदेखि बाँधेको छ। खुला सिमाना र जनस्तरको सामीप्यका कारण पनि नेपाल–भारत सम्बन्ध अन्य मुलुकसँगको भन्दा सर्वथा भिन्न र संवेदनशील छ।
प्रधानमन्त्री बालेनले कूटनीतिको ढोका बन्द गर्दा नयाँदिल्लीले सिधै ‘पावर सेयरिङ’को मुख्य साझेदार रास्वपा सभापति लामिछानेसँग संवाद थाल्नुले नेपाली कूटनीतिको संस्थागत अपरिपक्वता र कमजोरीलाई पुनः सतहमा ल्याइदिएको छ। रविको यो दिल्ली यात्रा केवल ‘रातो कार्पेट’ को न्यानो आतिथ्य र सत्कारमा मात्र भुलेर सकिन्छ कि राष्ट्रिय हित, व्यापारिक लाभ र कूटनीतिक सन्तुलन कायम गर्न पनि सफल हुन्छ, त्यो भने हेर्न बाँकी छ ।



प्रतिक्रिया