तत्काल सुरक्षित बसोबासको ग्यारेन्टी गर्न सुकुम्बासीहरुको माग


काठमाडौँ । बासस्थानको विकल्प नजुटाई आफूहरूलाई उठिबास लगाइएको भन्दै सुकुमबासीहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उठिबास भएको एक महिना बितिसक्दा पनि सरकारले पुनःस्थापनामा चासो नदेखाएको भन्दै उनीहरू मंगलबार सडकमा उत्रिएका हुन् ।

प्रदर्शनकारीहरूले ‘जबर्जस्ती उठिबास बन्द गर’, ‘सरकार तैँले खोजेको विकास कि विनाश ?’ र ‘गरिबमाथि अन्याय बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए ।

आफूहरू बेघर भएको ३० दिन पुग्दासमेत उचित बासको व्यवस्था नभएकाले बाध्य भएर आन्दोलनमा आउनुपरेको प्रदर्शनकारीहरूको भनाइ छ ।