कांग्रेसले भन्यो, ‘कानेखुसीबाट सदन चल्न सक्दैन’


काठमाडौँ । प्रतिनिधिसभा बैठक कक्षबाट मर्यादापालकले आफ्ना सांसदलाई बाहिर निकालेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा विरोध जनाएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको दोस्रो चरणको बैठकमा कांग्रेस सचेतक निश्कल राईले सो घटनाप्रति आपत्ति प्रकट गरेका हुन् ।

मंगलबारकै पहिलो चरणको बैठकमा फोटो र भिडियो खिचेको आरोपमा मर्यादापालकहरूले कांग्रेस सांसद गीता सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालेका थिए । सभामुख डीपी अर्यालको स्पष्ट आदेशविना नै मर्यादापालकहरूले एकलौटी रूपमा सांसदमाथि बल प्रयोग गरेको कांग्रेसको दाबी छ ।

संसद्‍मा बोल्दै कांग्रेस सचेतक राईले नियमावलीअनुसार बैठक कक्षभित्र फोटो र भिडियो खिच्न नपाइने कुरामा आफूहरू सचेत रहेको भए पनि सभामुखको आदेशविना गरिएको यस्तो गतिविधि सह्य नहुने चेतावनी दिए ।

उनले भने, सभामुखले त्यस्तो आदेश कानेखुसी गरेर दिने होइन, संसद्‍मा सबैलाई जानकारी गराएर दिनुपर्छ । कानेखुसीबाट सदन अघि बढ्न सक्दैन ।’