लुम्बिनी, १२ जेठ । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ । प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सभामा छलफल सुरु भएको हो ।
बैठकमा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३९ को उपनियम (१) बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यले ‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । त्यसपछि दलीय प्रतिनिधित्वका आधारमा प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न सुरु गरेका हुन् ।
छलफलमा प्रदेशसभा सदस्य अर्जुनकुमार केसी, निलम पासवान, भण्डारीलाल अहिर, भगवती अधिकारी, मीनाकुमारी श्रेष्ठ तथा विष्णुप्रसाद पन्थीले भाग लिए । उनीहरूले प्रदेश सरकारको नीति तथा कार्यक्रमका विभिन्न पक्ष, विकास प्राथमिकता, कृषि, पर्यटन, सुशासन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित विषयमा धारणा राखेका थिए ।
बैठकमा नीति तथा कार्यक्रममाथि कुनै संशोधन प्रस्ताव दर्ता नभएको जानकारी सभामुख तुलाराम घर्तिमगरले जानकारी गराएका थिए । प्रदेशसभाले नीति तथा कार्यक्रममाथिको छलफललाई आगामी बैठकमा निरन्तरता दिने निर्णय गरेको छ ।
थारु समुदायको प्रथा जनित विधेयक पेस
यसैबीच, आजको बैठकमा ‘थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पनि पेस गरिएको छ । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक सभासमक्ष प्रस्तुत गरेका हुन् ।
प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथा जनित कविला गण संरचना, सङ्गठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर तथा भलमन्साजस्ता परम्परागत अभ्यासको संरक्षण, अभिलेखीकरण, प्रवर्द्धन र पुस्तान्तरणका लागि कानुनी व्यवस्था आवश्यक रहेको भन्दै विधेयक ल्याइएको जनाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा थारू समुदायको जनसङ्ख्या १८ लाख सात हजार १२४ अर्थात् कुल जनसङ्ख्याको ६.२ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशमा मात्रै थारू समुदायको जनसङ्ख्या सात लाख ३२ हजार ६९ अर्थात् १४.३ प्रतिशत रहेको तथ्याङ्क छ । दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र नवलपरासी जिल्लामा थारू समुदायको उल्लेख्य बसोबास रहेको छ ।
बैठकको प्रारम्भमा समसामयिक विषयमा शून्य समयमा विभिन्न ११ जना प्रदेशसभा सदस्यहरूले आफ्ना धारणा राखेका थिए । प्रदेशसभाको अर्को बैठक यही जेठ १३ गते बुधबार दिउँसो १ः०० बजे बस्ने तय गरिएको छ । रासस



प्रतिक्रिया