काठमाडौं, जेठ १४ । गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
बुधबार बसेको समितिको बैठकले प्रहरी नियमावली, २०७१ अनुसार जनपद तथा प्राविधिकतर्फका रिक्त पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। जनपदतर्फ जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत एसपी अमरेन्द्र बहादुर सिंह सिफारिस भएका छन्।
यस्तै, स्वास्थ्य उपसमूह (चिकित्सक)तर्फ नेपाल प्रहरी अस्पताल महाराजगञ्जका डा. सेवक श्रेष्ठ सिफारिस भएका छन्।इन्जिनियरिङ तथा सूचना प्रविधितर्फ अपराध अनुसन्धान विभाग, नक्सालका सरोज शाक्य र प्रहरी प्रधान कार्यालय, नक्सालका मनिषराज सापकोटा पनि एसएसपी बढुवाका लागि सिफारिस भएका छन्।
त्यस्तै, जनपद र प्राविधिक समूहका १३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयको बुधबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको हो। समितिको निर्णयअनुसार डिएसपी ध्रुव कुमार श्रेष्ठलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
त्यसैगरी, प्राविधिकतर्फ स्वास्थ्य र इन्जिनियरिङ समूहका १२ जना डिएसपीहरू बढुवा सिफारिसमा परेका छन्। स्वास्थ्य (चिकित्सक) उप(समूहतर्फ ९ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ। जसमा डा. शोभा वाग्ले, डा. सरोज सिंह, डा. बिकल श्रेष्ठ, डा. बोध विक्रम कार्की, डा. निर्मल घिमिरे, डा. नर्मन लामिछाने, डा.दिपा चुडाल, डा. सुवास थापा र डा. भवानी गुरुङ रहेका छन्।
यस्तै, प्राविधिक (इन्जिनियरिङ) समूह अन्तर्गतको सूचना प्रविधि उप(समूहतर्फ डिएसपीहरू ई.राम कुमार बस्नेत, सुनिल कुमार बरनवाल र राइज महर्जनलाई पनि एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।



प्रतिक्रिया