वासिङ्टन, १४ जेठ । रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाब अझ कडा बनाएको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार इरानको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ विरुद्ध प्रतिबन्ध लगाएको घोषणा गरेको हो ।
अमेरिकाका अनुसार उक्त निकायले हर्मुज जलघाँटी प्रयोग गर्ने जहाजहरूबाट शुल्क असुल्ने व्यवस्था सञ्चालन गर्दै आएको छ । विश्व ऊर्जा आपूर्तिको महत्त्वपूर्ण मार्ग मानिने यस जलमार्गसँग सम्बन्धित नयाँ कदमलाई वासिङ्टनले इरानमाथि आर्थिक नियन्त्रण कडा पार्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जारी विज्ञप्तिमा इरानी सेनाले विश्वव्यापी समुद्री व्यापारबाट आर्थिक लाभ उठाउने पछिल्लो प्रयासले तेहरान नगद अभावको दबाबमा परेको सङ्केत दिएको बताए । उनले इरानी नेतृत्वले आफ्नो कार्यक्रम सञ्चालन गर्न नयाँ राजस्व स्रोत खोजिरहेको दाबी गरे ।
विज्ञप्तिअनुसार हर्मुजमार्फत यात्रा गर्न शुल्क तिर्ने व्यक्ति वा संस्थाहरू पनि अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिइएको छ । मन्त्रालयले त्यस्ता भुक्तानीहरूलाई इरानको रिभोलुसनरी गार्ड्सलाई सहयोग वा सेवा उपलब्ध गराएको रूपमा व्याख्या गर्न सकिने उल्लेख गरेको छ ।
बेसेन्टले अमेरिकाले इरानी शासनलाई उसका हतियार कार्यक्रम, क्षेत्रीय सशस्त्र सहयोगी समूह तथा आणविक महत्त्वाकांक्षाका लागि आवश्यक आर्थिक स्रोतबाट वञ्चित गर्न काम गरिरहेको बताए । विज्ञप्तिमा अमेरिकाले तेहरानलाई ‘दशौँ अर्ब डलर बराबरको सम्भावित राजस्व पहुँचबाट टाढा राख्न’ सफलता हासिल गरेको दाबी पनि गरिएको छ ।
यसैबीच, पर्सियन गल्फ स्ट्रेट अथोरिटीले मई २० मा सामाजिक सञ्जाल एक्समा आफ्नो भनिएको ‘नियामक क्षेत्राधिकार’ स्पष्ट पार्ने नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सामा हर्मुज जलघाँटीका दुवै किनारतर्फ रातो रेखा कोरेर मार्ग प्रयोगका लागि इरानी स्वीकृति आवश्यक पर्ने क्षेत्रहरू देखाइएको थियो ।
युद्ध र कूटनीतिक तनावबीच यो विवाद थप संवेदनशील बनेको छ । अमेरिकी र इरानी सेनाले अप्रिल ८ यता युद्धविरामको पालना गर्दै आएका भए पनि राजनीतिक समाधानका लागि कूटनीतिक प्रयास जारी छन् । त्यसका बाबजुद हर्मुज हुँदै हुने खाडी क्षेत्रको जलपरिवहनमा इरानको नियन्त्रण अझ कडा बनेको अमेरिकी पक्षको आरोप छ भने पछिल्ला दिनहरूमा अमेरिकाले इरानी लक्ष्यहरूमा सैन्य आक्रमणसमेत सुरु गरेको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सोमबार तेहरानले रणनीतिक हर्मुज मार्गको ट्राफिक व्यवस्थापन जारी राख्ने बताएको थियो । विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास पारगमन हुने यस समुद्री मार्गमा इरानले ‘टोल’ नभई ‘नेभिगेसनल सेवा’ उपलब्ध गराएबापत शुल्क लिइरहेको उनको दाबी थियो ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इस्लामिक गणतन्त्रमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा इरानले क्षेत्रभर मिसाइल र ड्रोन आक्रमणमार्फत प्रतिकार गरेको घटनाक्रम पनि यस तनावपूर्ण पृष्ठभूमिसँग जोडिएको छ । रासस



प्रतिक्रिया