कीर्तिपुरको होल्डिङ सेन्टरमा सुकुम्बासी बिरामीको चित्कारः हरहालतमा सहयोग गर्ने धमलाको वचन


काठमाडौँ । नदीकिनारको झुपडीबाट हठात् उठाइएका ६५ परिवार सुकुम्बासी यतिबेला कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताउन विवश छन् । सरकारले उठिबास लगाएपछि विकल्पका रूपमा कीर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टरमा सारिएका ६५ घरधुरीका सुकुम्बासीको अवस्था अहिले दयनीय बनेको छ । तर, उनीहरूको गास, बास र कपासको ग्यारेन्टी गर्नुपर्ने राज्यका प्रतिनिधि भने अहिलेसम्म अनुगमनका लागि आएका छैनन् ।

यसैबीच, चर्चित पत्रकार एवं स्वतन्त्र नागरिक अभियान नेपालका अध्यक्ष ऋषि धमलाले बिहीबार उक्त होल्डिङ सेन्टरको स्थलगत अवलोकन गरेका छन् । सेन्टरमा पुगेर त्यहाँका बालबालिका, वृद्धवृद्धा र बिरामीहरूको कारुणिक अवस्था देखेपछि धमला भावविह्वल बनेका छन् ।

कीर्तिपुरमा पनि खोलाकै किनारमा नै रहेको उक्त होल्डिङ सेन्टरको वातावरण स्वास्थ्यका दृष्टिकोणले निकै असुरक्षित र डरलाग्दो रहेको पीडितहरूले बताएका छन् ।


‘शुरुवाती दिनहरूमा खानपानको व्यवस्था राम्रै भए पनि पछिल्लो समय खानाको गुणस्तर निकै खस्किएको छ । दिनमा दुईपटक जेनतेन खाना त आउँछ, तर खाजाको कुनै व्यवस्था छैन । साना केटाकेटी भोकभोकै रुन्छन्,’ सुकुम्बासीले दुखेसो पोखे ।

होल्डिङ सेन्टरमा अहिले ५–६ जना बिरामीहरू ओछ्यान परेका छन्, जसले अहिलेसम्म कुनै उपचार पाउन सकेका छैनन् । पत्रकार धमलालाई आफ्नो माझ पाएपछि बिरामीहरूले रुँदै उपचार नपाएको पीडा सुनाए भने बालबालिकाहरूले राम्रोसँग खान र पढ्न नपाएको गुनासो गरे । उनीहरूले आफूहरूको स्थायी पुनस्र्थापनाका लागि पहल गरिदिन धमलासँग आँसु झार्दै गुहार मागेका थिए ।

पीडितहरूको कारुणिक क्रन्दन र बालबालिकाको आर्तनाद सुनेपछि भावुक बनेका स्वतन्त्र नागरिक अभियानका अध्यक्ष एवं पत्रकार ऋषि धमलाले सुकुम्बासीहरूलाई न्याय दिलाउन आफूले सक्दो प्रयास गर्ने वचन दिए ।

सुकुम्बासीहरुलाई सान्त्वना दिँदै धमलाले भने, ‘तपाईंहरूले आँसु बगाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । राज्यले नागरिकलाई यसरी अलपत्र पार्न मिल्दैन । म तपाईंहरूको यो पीडा, बिरामीहरूको उपचार र बालबालिकाको शिक्षाको सवाललाई लिएर तत्कालै सरकारका जिम्मेवार निकाय र सरोकारवालाको ढोका ढकढक्याउन पुग्नेछु । म मेरो तर्फबाट तपाईंहरूको पुनस्र्थापना र राहतका लागि जे–जस्तो सहयोग गर्नुपर्छ, त्यो गर्न हरदम तयार छु । तपाईंहरू आफूलाई एक्लो नठान्नुस्, म तपाईंहरूको साथमा छु ।’

पीडितहरूले राज्यका अगाडि आफ्नो आवाज कमजोर भइरहेका बेला देशकै प्रभावशाली पत्रकार धमला आफैँ आँगनमा आइपुग्दा र अभिभावकत्व ग्रहण गर्ने वचन दिँदा ठुलो राहत महसुस भएको बताएका छन् ।

सरकारले बिनाकुनै ठोस योजना सुकुम्बासीलाई खोलाकिनारबाट त हटायो, तर उनीहरूको उचित पुनस्र्थापनामा देखाएको चरम उदासीनताले अहिले कीर्तिपुरका ६५ परिवारको भविष्य थप अन्धकारमा धकेलिएको छ । होल्डिङ सेन्टरमा आधारभूत आवश्यकतासमेत पूर्ति नहुँदा मानवीय संकट गहिरिँदै गएको छ । यसप्रति सरकारको ध्यान जान जरुरी देखिएको छ ।