काठमाडौं, १५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शमा ओलीले गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड दिएका छन् ।
गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संरचनामार्फत राज्य सञ्चालन हुने व्यवस्था सुरु हुनु गणतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
सन्देशमा अध्यक्ष ओलीले गाउँगाउँमा स्थानीय सरकारको उपस्थिति, राज्यका साधनस्रोतमा नागरिक पहुँच विस्तार, महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायको प्रतिनिधित्व वृद्धि, नागरिक स्वतन्त्रता, खुला अभिव्यक्ति, सेवामा डिजिटल पहुँच तथा सडक–सञ्चार विस्तारलाई गणतन्त्रका उपलब्धिका रूपमा चित्रण गरेका छन्।
जनताले आफ्ना लागि आफैंले शासनप्रणाली निर्धारण गर्ने गणतान्त्रिक अधिकार प्राप्त गर्न सात दशकभन्दा लामो सङ्घर्ष गर्नुपरेको उल्लेख गरिएको छ । बोल्ने, लेख्ने, सङ्गठित हुने तथा राजनीतिक विचार राख्ने अधिकार प्राप्तिका क्रममा हजारौँ अग्रजले जीवन बलिदान गर्नुपरेको र धेरैले लामो जेलनेल, यातना तथा निर्वासन भोग्नुपरेको स्मरण सन्देशमा गरिएको छ ।



प्रतिक्रिया