काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी गरेको उल्लेख गर्दै यसलाई राष्ट्र निर्माणको महान् प्रेरणा र अभिभाराका रूपमा लिनुपर्ने बताएका छन् । १९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन् ।
उनले गणतन्त्र फगत एउटा व्यवस्था मात्र नभएर आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति भएको स्पष्ट पारे । ‘यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ,’ राष्ट्रपति पौडेलले भने, ‘आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्न प्रेरणा देओस् ।’
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले मुलुकको विकासमा भएको ढिलाइ र नागरिकको निराशाप्रति चिन्ता व्यक्त गरे । आजको समयमा मुलुकको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको उनको भनाइ थियो ।
‘लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यिनै बेथितिहरूले निराश नबनाओस् भन्नेमा हाम्रो चिन्ता हुनुपर्छ,’ राष्ट्रपतिले थपे, ‘जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्दैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुन सक्दैन ।’ आजका नागरिकले सुशासनसहितको समृद्धि खोजेको उल्लेख गर्दै उनले यसका लागि उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिए ।
मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे बोल्दै राष्ट्रपति पौडेलले प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भई बलियो जनादेशसहितको सरकार बनेको स्मरण गरे । वर्तमान सरकारले जनताको चाहनाअनुसार सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई मूल मार्गदर्शकका रूपमा अघि बढाएको उनले उल्लेख गरे ।
सरकारले अघि सारेको शासकीय सुधारको एक सय कार्यसूचीको पूर्ण कार्यान्वयन, सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारका लागि भइरहेका संरचनागत तथा कानुनी सुधारले जनतामा नयाँ आशा जगाउने विश्वास उनले व्यक्त गरे ।
‘राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षाहरू पूरा हुन सक्दैनन्,’ राष्ट्रपति पौडेलले भने, ‘यसका लागि हाम्रो राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक छ, अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्न सक्दैन ।’
उनले गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन सबै शक्तिहरू राजनीतिक निष्ठा र मूल्यमान्यतासहित एकताबद्ध हुनुपर्ने आश्यकता औंल्याएका छन् ।



प्रतिक्रिया