गणतन्त्र दिवस मनाइरहँदा भुइँमा लडे सैनिक जवान


काठमाडौँ । गणतन्त्र दिवस २०८३ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान अचानक भुइँमा लडेका छन् । राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा समारोह चलिरहेका बेला ती जवान अचानक ढलेका थिए ।

भुइँमा लडेका उनलाई त्यहाँ खटिएका अन्य सुरक्षाकर्मी र सहयोगीहरूले तत्कालै उठाएका थिए । ती जवान सहयोगीहरूको सहारामा आफैँ हिँडेर सैनिक मञ्च परिसरमै रहेको उपचारस्थलसम्म पुगेका थिए ।

लामो समय एकै ठाउँमा एउटै पोजिसनमा उभिँदा शारीरिक समस्या आएर उनी लडेको नेपाली सेनाले जनाएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाइएको छ ।