गण्डकी, १५ जेठ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गणतन्त्र व्यवस्था परिवर्तनमात्र नभई राज्य सञ्चालनको पद्धति र नागरिकको जीवनस्तरमा सकारात्मक रुपान्तरण ल्याउनुपर्ने बताएका छन् । १९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार गण्डकी प्रदेश सरकारद्वारा पोखरामा आयोजित विशेष समारोहमा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै जाँदा नागरिकको विकास र समृद्धिको आकाङ्क्षा पूरा हुँदै जाने विश्वास व्यक्त गरे ।
“संविधानले निर्दिष्ट गरेअनुरुप समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिन जरुरी छ”, प्रमुख भट्टले भने, “जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आआफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक छ ।”
बिनाभेदभाव सबै नागरिकलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक सुनिश्चितता हुन सक्नु गणतान्त्रिक व्यवस्थापको गौरवको विषय रहेको उनले बताए । मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गर्नुपर्नेमा उनले जोड दिए ।
प्रदेश प्रमुख भट्टले ऊर्जावान युवाशक्तिलाई स्वदेशमै रोजगारी र उद्यमशीलताको वातावरण तयार गर्नु आजको प्रमुख आवश्यकता रहेको बताए । समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पछिल्लो समय गणतन्त्रलगायत राजनीतिक उपलब्धिलाई कमजोर पार्ने प्रयास भएको भन्दै त्यसलाई रोक्नुपर्ने धारणा राखे । गणतन्त्रले नागरिकका जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री पाण्डेले नेपाललाई सबल, आत्मनिर्भर तथा समाजवादउन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले गणतन्त्रीवादी शक्तिहरूबीच एकता र सहकार्यमा जोड दिए । उनले गणतन्त्रलाई थप सुदृढ र प्रभावकारी बनाउनुपर्ने बताए । पूर्वमुख्यमन्त्री एवं नेकपा ९एमाले० संसदीय दलका नेता खगराज अधिकारीले गणतन्त्रका उपलब्धिलाई जरैदेखि बलियो र संस्थागत गर्नुपर्ने बताए ।
विपक्षी दलका नेता हरिबहादुर चुमानले न्याय, समानता र स्वतन्त्रताका लागि गणतन्त्रीवादीहरूले ठूलो त्याग र बलिदान गरेको बताए । राज्यले सामाजिक न्याय र समावेशी विकासमा जोड दिनुपर्ने उनको भनाइ छ । उक्त समारोहमा उत्कृष्ट शिक्षक, कृषक, समाजसेवी, पत्रकार, व्यवसायी, घरबास सञ्चालकलगायतलाई सम्मान गरिएको थियो । रासस



प्रतिक्रिया