जुम्ला, १७ जेठ । हिमा गाउँपालिका–३ स्थित जोगिबाडामा रु ६ करोड ३४ लाख लागतमा पक्की पुल निर्माण हुने भएको छ ।
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको उक्त बजेटमा हिमा नदीमाथि पक्की पुल निर्माण हुने पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपकबहादुर रावलले जानकारी दिए । मन्त्रालयको विनियोजित बजेट कार्यालयले बोलपत्र आह्वान गरेको थियो । ६ करोड ३४ लाखमा उक्त पक्की पुल मल्ल कन्ट्रक्सन दैलेखसँग निर्माण गर्न सम्झौता भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रावलको भनाइ छ ।
हिमा नदीमाथि पक्की पुल निर्माण नहुँदा गाउँसम्म पुग्न सवारीसाधनदेखि यहाँका स्थानीयवासीलाई सास्ती हुने गरेको थियो । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले बहुवर्षीय बजेट सुनिश्चित भएपछि पुल निर्माणले गति लिएको कर्णाली प्रदेशसभा सदस्य टेकराज पछाईँले जानकारी दिए ।
उक्त पक्की पुल निर्माणपछि यहाँका बड्की, जोगिबाडा, च्यामा र मोफ्ला गाउँका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । यहाँका विकट गाउँबस्तीका स्थानीयले उत्पादन गर्ने कृषि तथा पशुजन्य उत्पादन बजारसम्म ल्याउन र स्थानीय आवतजावत गर्न सुविधा पुग्ने हिमा–३ का वडाध्यक्ष धनवीर रोकायाले बताए ।
पुल ४० मिटर लामो रहेको छ । आगामी दुई वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । नयाँ प्रविधिको पुल निर्माणका लागि शनिबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य पछाईँले सो पुल शिलान्यास गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।



प्रतिक्रिया