काठमाडौँ, १७ जेठ । राष्ट्रियसभाको आजको बैठकमा सांंसदहरूले पछिल्लो समय मधेस प्रदेशमा सुक्खा बढेसँगै खानेपानीको समस्या गहिरिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बैठकमा सांसद उर्मिला अर्यालले पछिल्लो समय मधेसमा खानेपानी समस्या बल्झँदै गइरहेको भन्दै उक्त समस्या समयमै सम्बोधन हुनुपर्नेमा जोड दिइन् ।
यसैगरी, सांसद गोमादेवी तिमल्सेनाले शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा उद्योग सञ्चालनका लागि आवश्यक बजेट विनियोजन हुन नसकेको बताइन् ।
सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशमा विद्युत समस्या भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद नरबहादुर विष्टले सांसदहरूले राखेका मागको सरकारले जवाफ दिनुपर्ने बताए ।
सांसद भुवनबहादुर सुनुवारले जातीय छुवाछूतको अपराध हट्न नसकेको स्मरण गराउँदै माइतीघरमा आन्दोलनरत दीपा नेपालीलगायत युवाहरूको माग पूरा गर्नुपर्नेमा जोड दिए । “दलितलाई उपत्यकामा कोठा भाडामा पाउन समस्या भएपछि दीपालगायत युवाहरू माइतीघरमा ‘कोठा खाली छ ?’ भनेर आन्दोलनमा हुनुहुन्छ । छुवाछूत अन्त्यका लागि न्याय माग गरिरहनुभएको छ, माग सम्बोधन होस्”, उनले भने ।
सांसद युवराज शर्माले नागरिकले महँगीको चोट बेहोर्नुपरेको भन्दै महँगी नियन्त्रणका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
बैठकमा सांसदहरू नारायणदत्त मिश्र र उदयबहादुर बोहोराले विभिन्न विषयमा धारणा राखेका थिए ।



प्रतिक्रिया