‘प्रम बालेनले चीनका विषयमा दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत’– ओली


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा चीनका विषयमा दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत र कमजोर रहेको टिप्पणी गरेकी छन् ।

सदनमा प्रधानमन्त्री शाहले चीनको विकासको उदाहरण दिँदै राखेको धारणाप्रति ओलीले आपत्ति जनाएकी हुन् ।

‘प्रधानमन्त्रीले संसद्मा आएर दिनुभएको जवाफ धेरै अमूर्त थियो । त्यहाँ केही गम्भीर प्रश्नहरू थिए, जसलाई उहाँले सम्बोधन गर्न सक्नुभएन वा बिर्सनुभयो,’ ओलीले भनिन्, ‘विशेषगरी उहाँले चीनको विषयमा एउटा टिप्पणी गर्नुभयो, जुन कूटनीतिक मर्यादा अनुकूल भएन कि भन्ने मलाई लाग्छ । त्यो गलत भयो ।’

प्रधानमन्त्रीले हतारमा र परिपक्वताविना छिमेकी मुलुकको विषय संसद्मा उठाउँदा अन्तर्राष्ट्रिय कूटनीतिमा असर पर्न सक्ने भन्दै राप्रपा सांसद ओलीले सरकारको वैदेशिक नीतिको स्पष्टतामाथि समेत प्रश्न उठाएकी छन् ।