कर्मचारीलाई अर्थमन्त्रीको प्रष्टिकरण : तलब वृद्धि २१ प्रतिशत नै हो


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशत नै वृद्धि गरिएको स्पष्ट पारेका छन् ।

आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तलब वृद्धिको विषयलाई लिएर सरकारले कर्मचारीलाई ढाँटेको वा झुक्याएको भन्ने गुनासो बाहिर आएको समाचारबारे खण्डन गरेका हुन् ।

‘तलब वृद्धि २१ प्रतिशत नै हो है, यसमा डाउट नहोस् । बाहिर सरकारले ढाँट्यो कि क्या हो, झुक्यायो भन्ने कुरा उठिरहेको छ । त्यस्तो हुँदैन,’ उनले भने ।

उनले १० प्रतिशत आधार तलब (बेस) मा बढेको र अर्को १० प्रतिशत कार्यसम्पादनसँग जोडिने गरी बढाइएको बताए । साथै विगतदेखि दिइँदै आएको ५ हजार रुपैयाँ महँगी भत्तालाई पनि निरन्तरता दिइएको उनको भनाइ छ ।