प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति हर्कको कडा आपत्ति , भने- ‘राष्ट्रघाती’


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले सदनमा दिएको अभिव्यक्तिप्रति विरोध जनाएको छ ।

आइतबार संसदको बैठकमा सांसद आरेन राईले सोधेको प्रश्नको जवाफको क्रममा प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति पार्टीले आज एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

साम्पाङले जारी गरेको विज्ञप्तिमा रास्वपा सभापति रवि लामिछाने भारत जानुअघि भारतलाई रिझाउन प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएको हुनसक्ने आशंका व्यक्त गरिएको छ ।

प्रधानमन्त्रीको भनाइले नेपालको सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ भन्ने नेपाली जनताको मागलाई सामसुम पार्ने तथा नेपालले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनियत प्रष्ट पारेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले बोलेको यो कुराले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र स्थिति के हो भन्नेबारे गम्भीर अस्पष्टता व्यक्त गरेको छ ।’