काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साउन १ गतेदेखि बिजुलीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयबाट सरकार पछि नहट्ने स्पष्ट पारेका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को छलफलमा अर्थमन्त्री डा. वाग्लेले बजेट वक्तव्यमार्फत बिजुलीमा लगाइएको ५ प्रतिशत भ्याटको चौतर्फी विरोध भइरहेका बेला यसलाई अनावश्यक रूपमा उचालिएको गुनासो गरे । तर, भ्याट लागे पनि त्यसको प्रत्यक्ष भार सर्वसाधारण उपभोक्तामा पर्न नदिने गरी विकल्पहरू खोजिरहेको उनको जिकिर छ ।
उनका अनुसार विद्युत नियमन आयोगमार्फत महसुल दर समायोजन गर्ने वा विपन्न वर्गका लागि निःशुल्क दिइँदै आएको बिजुलीको युनिट सीमा बढाएर उपभोक्तालाई राहत दिनेबारे छलफल भइरहेको छ ।
सरकारले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्ने र राजस्वको दायरा बढाउने नीतिअनुरूप बिजुलीमा भ्याट लगाउने निर्णय गरेको भए पनि उपभोक्ता र व्यवसायी वृत्तबाट भने यसको तीव्र आलोचना भइरहेको छ ।



प्रतिक्रिया