हरिसिद्धि अस्पतालमा गोपालमान र विद्वान गुरुङबीच भेट, श्रेष्ठले भने– ‘पार्टी मिल्नैपर्छ’


ललितपुर । नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङले क्यान्सर रोगको उपचार गराइरहेका पार्टीका पूर्वउपसभापति एवं वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

पेटको क्यान्सर भएपछि ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेका नेता श्रेष्ठलाई भेट्न गुरुङ उनी अस्पताल पुगेका हुन् । भेटका क्रममा गुरुङले नेता श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

भेटका क्रममा गुरुङले वरिष्ठ नेता श्रेष्ठलाई अस्पतालबाट निको भएर यथाशीघ्र पार्टी राजनीतिमा फर्कन र हाल पार्टीभित्र देखिएको विवाद समाधानका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

गुरुङको आग्रहपछि नेता श्रेष्ठले पार्टीभित्रको आन्तरिक एकताप्रति सकारात्मक जवाफ दिएका छन् । श्रेष्ठको भनाइ उद्धृत गर्दै गुरुङले भने, ‘पार्टीभित्र अहिले केही असमझदारी देखिए पनि अन्ततोगत्वा पार्टी मिल्छ, मिल्नैपर्छ ।’

नेता श्रेष्ठलाई भेट्न गुरुङसँगै नेपाल तरुण दलका निवर्तमान केन्द्रीय सदस्य कमल घिमिरे पनि अस्पताल पुगेका थिए । पछिल्लो समय नेता श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।