काठमाडौँ । नेपाल र भारतबीच सीमा विवादलाई लिएर कूटनीतिक वृत्त गर्माइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछालाई भारतको नयाँदिल्लीमा भव्य स्वागत गरिएको छ । सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले भाजपा मुख्यालयमा रविलाई भव्य स्वागत गरेका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो सीमासम्बन्धी अभिव्यक्ति र सीमा क्षेत्रको तनावका कारण दुई देशबीच राजनीतिक सरगर्मी बढेका बेला सत्ता साझेदार दलका प्रमुख लामिछाने ५ दिने भ्रमणमा छन् ।
नेपालमा जेनजी युवा पुस्ताको तरंगका रूपमा उदाएका लोकप्रिय नेता लामिछाने भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको विशेष निमन्त्रणामा भारत गएका हुन् । नयाँदिल्ली पुगेलगत्तै सभापति लामिछाने र भाजपा अध्यक्ष नवीनबीच उच्च–स्तरीय भेटवार्ता भएको छ ।
सम्बन्ध सुधार र राजनीतिक संवादको प्रयास
पछिल्लो समय काठमाडौँ र नयाँदिल्लीबीच कूटनीतिक दूरी बढिरहेको आशंका गरिएका बेला भएको यस हाई–प्रोफाइल भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । दुई देशबीचको सम्बन्धमा आएको चिसोपन हटाउन र थाँती रहेका विषयमा राजनीतिक संवादलाई अघि बढाउन यो भेटवार्ता केन्द्रित रहेको बताइएको छ ।
नेपाली राजनीतिमा परम्परागत शक्तिहरूभन्दा फरक धारको नेतृत्व गरिरहेको रास्वपा र भारतको सत्तारूढ दल भाजपाबीचको यो संवादले आगामी दिनमा कूटनीतिक वातावरण सहज बनाउने दुवै पक्षको विश्वास छ ।
अयोध्या भ्रमणको तालिका
भ्रमणका क्रममा सभापति लामिछानेले दिल्लीमा रहेका भारत सरकारका अन्य वरिष्ठ मन्त्री, राजनीतिक दलका नेता तथा उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ । राजनीतिक भेटघाट सकिएपछि उनी सांस्कृतिक एवं धार्मिक सहर अयोध्याको भ्रमणमा समेत जाने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया