प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिमा सरकारको ‘ट्विस्ट’: भूमि मिचेको दाबी नगरेको जिकिर


काठमाडौँ । नेपाल र भारतबीचको सीमा विवादलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिका कारण राजनीतिक वृत्त गर्माइरहेका बेला सरकारका प्रवक्ताले त्यसको बचाउ गरेका छन् । प्रधानमन्त्रीको विवादित अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना बढेपछि सरकारका प्रवक्ता सस्मित पोखरलेले त्यसलाई ‘ट्वीस्ट’ गर्दै प्रधानमन्त्रीले नेपालले भूमि मिचेको भनेर नबोलेको दाबी गरेका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ताले प्रधानमन्त्रीको भनाइको बचाउ गर्दै स्पष्टीकरण दिएका हुन् । प्रधानमन्त्रीको कूटनीतिक अपरिपक्वताका कारण छिमेकी देशसँगको सम्बन्धमा असर पर्न सक्ने भन्दै टिप्पणी भइरहेका बेला सरकारले यसलाई सामान्यीकरण गर्ने प्रयास गरेको छ ।

पत्रकारको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले सीमा मिचेको दाबी नगरेको जिकिर गरे । ‘प्रधानमन्त्रीज्यूले नेपालले भूमि मिचेको भनेर बोल्नुभएको होइन,’ प्रवक्ताले भने, ‘उहाँले त प्राविधिक वा कूटनीतिक संयन्त्रबाट आएको कुरा सुनेर आफू आफैँ अचम्भित भएँ मात्र भन्नुभएको हो । उहाँको भनाइलाई गलत ढङ्गले व्याख्या गरियो ।’

रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्तिका कारण काठमाडौँदेखि नयाँदिल्लीसम्म राजनीतिक सरगर्मी बढेको छ । प्रतिपक्ष र कूटनीतिक क्षेत्रका विज्ञहरूले भने संवेदनशील सीमा मामिलामा प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले बिना तथ्य र प्रमाण हल्का टिप्पणी गर्न नहुने प्रस्ट पारेका छन् ।

१७ जेठको संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भइरहेको छ ।