नारायणहिटी नरसंहारको २५ वर्षः रहस्यकै गर्भमा ‘जेठ १९’


काठमाडौँ । नेपालको इतिहासमा २०५८ जेठ १९ एउटा यस्तो कालो र कहालीलाग्दो मोड हो, जसले मुलुकको दुई सय वर्षभन्दा लामो शाहवंशीय इतिहास मात्र बदलेन, आधुनिक नेपालको राजनीतिक दिशानिर्देश नै उल्ट्याइदियो । उच्च सुरक्षा घेराभित्र रहेको नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको आज २५ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गतेको त्यो शुक्रबारे रातले उब्जाएका प्रश्न र संशयका अनेकौँ शृङ्खला २५ वर्षपछि पनि नेपाली मानसपटलमा उत्तिकै ताजा र अनुत्तरित छन् ।

त्यो कहालीलाग्दो रात र वंशनाश
२०५८ जेठ १९ गतेको साँझ नारायणहिटी राजदरबारभित्रको त्रिभुवन सदनमा नियमित पारिवारिक जमघट थियो । राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिसहित राजपरिवारका निकट सदस्यहरू बिलियार्ड हलमा झुम्मिएका थिए । तर, राति ९ बजेपछि सुरु भएको अन्धाधुन्ध गोलीबारीले केही मिनेटमै देशको इतिहासलाई रक्ताम्मे बनायो ।

उदार र लोकप्रिय राजाको छवि बनाएका वीरेन्द्रको वंश नै सखाप हुने गरी भएको उक्त नरसंहारमा राजा, रानी, युवराज, राजकुमार र राजकुमारीसहित परिवारका १० जनाको ज्यान गयो । एउटा पूरै राजपरिवारको त्यसरी निर्मम अन्त्य हुँदा नेपालीहरूले आफ्नो राष्ट्रप्रमुख मात्र गुमाएनन्, प्रत्येक घरले आफ्नो एउटा आत्मीय अभिभावक गुमाएको महसुस गर्‍यो। त्यही गहिरो चोट र सामीप्यताका कारण नै २५ वर्ष बितिसक्दा पनि जेठ १९ को त्यो घाउ नेपालीको मनमा अझैसम्म निको हुन सकेको छैन।

नारायणहिटीभित्र बगेको त्यो रगतले अन्ततः नेपालबाट राजतन्त्रकै विनाशको जग बसाल्यो ।

मृत्युशय्याका राजा र संवैधानिक संकट
१९ जेठको मध्यरातले नेपाललाई यस्तो ऐतिहासिक र अभूतपूर्व संकटमा धकेल्यो, जहाँ नयाँ राजाको राज्यारोहणबिना नै स्वर्गीय राजाको दाहसंस्कार गर्नुपर्ने परिस्थिति बन्यो ।

२० जेठ २०५८ मा बहादुर भवनमा बसेको राजपरिषद् स्थायी समितिको आपतकालीन बैठकले एउटा अनौठो र बाध्यतात्मक निर्णय गर्‍यो । सैनिक अस्पताल छाउनीमा अचेत र मृत्युशय्यामा रहेका युवराज दीपेन्द्रलाई नयाँ राजा घोषणा गरियो भने अधिराजकुमार ज्ञानेन्द्रलाई राज्य सहायक । नेपालको इतिहासमा पहिलो र अन्तिम पटक, कोही व्यक्ति सिंहासनमा नभई अस्पतालको शैयामा अचेत अवस्थामा राजा बन्यो ।

तर, यसको भित्री पाटो झन् रहस्यमय छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र शाही चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठका अनुसार, दीपेन्द्रको अस्पताल पुर्‍याउनुअघि वा पुर्‍याएलगत्तै मृत्यु भइसकेको थियो । तर, देशलाई ठूलो राजनीतिक र संवैधानिक शून्यताबाट जोगाउन, व्यवस्थापनका लागि उनलाई मृत अवस्थामै तीन दिनसम्म जीवित राजाको रूपमा घोषणा गरिएको खुलासा पछि भयो । २२ जेठमा दीपेन्द्रको औपचारिक मृत्युको घोषणासँगै ज्ञानेन्द्र शाहले राजगद्दी सम्हाले ।

घटनापछि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट सम्मिलित उच्चस्तरीय छानबिन समिति गठन गरियो, जसमा बस्न तत्कालीन एमाले नेता माधवकुमार नेपालले इन्कार गरेका थिए । समितिले कम्ब्याट पोसाकमा सजिएका युवराज दीपेन्द्रले नै स्वचालित हतियारबाट परिवारको हत्या गरी आफैँलाई गोली हानेको प्रतिवेदन सार्वजनिक गर्‍यो ।

तर, त्यो प्रतिवेदनलाई नेपाली जनताले कहिल्यै स्वीकार गरेनन् । यसको पछाडि केही गम्भीर फरेन्सिक र प्राविधिक त्रुटिहरू थिए–

हत्या गरिएका राजपरिवारका सदस्यहरूको कानुनी र चिकित्सकीय रूपमा पोस्टमार्टम नै गरिएन । शवहरूको प्रारम्भिक जाँच मात्र गरेर हतार–हतार दाहसंस्कार गरियो, जसले गर्दा वैज्ञानिक प्रमाणहरू सधैँका लागि खरानी भए ।

घटनालगत्तै त्रिभुवन सदनलाई भत्काइनु र प्रमाणहरू सुरक्षित राख्न नसक्नुले पनि राज्यको नियतमाथि ठूलो संशय पैदा गर्‍यो ।

दाहिने हातले लेख्ने दीपेन्द्रको कन्चटको देब्रेपट्टि गोली कसरी लाग्यो ? सुरक्षा घेराभित्र रहेका राजालाई बचाउन सेना किन समयमै छिर्न सकेन ? यी प्रश्नको चित्तबुझ्दो जवाफ प्रतिवेदनले दिन सकेन ।

राजनीतिक दाउपेच र अधुरो छानबिनको अश्वासन
नारायणहिटी काण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहको महत्त्वाकाङ्क्षा र प्रत्यक्ष शासनतर्फको मोहले राजतन्त्रको अन्त्यलाई झन् तीव्र बनायो । राजनीतिक दलहरूले २०६२–६३ को दोस्रो जनआन्दोलनमार्फत ज्ञानेन्द्रको तानाशाही कदमलाई असफल तुल्याए । अन्ततः नरसंहारको ठीक ७ वर्षपछि, २०६५ जेठ १५ गते नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरियो र ज्ञानेन्द्र इतिहासकै अन्तिम शाहवंशीय राजा बन्दै नारायणहिटीबाट बाहिरिए ।

गणतन्त्र स्थापनापछि बनेका हरेक सरकारले नारायणहिटी हत्याकाण्डको पुनः छानबिन गर्ने राजनीतिक नारा त बनाए, तर कार्यान्वयन कहिल्यै गरेनन् । राजनीतिक दलहरूका लागि यो काण्ड केवल एउटा चुनावी एजेन्डा र राजनीतिक प्रतिशोध लिने हतियार मात्र बनिरह्यो ।

रहस्यको गर्भमै जेठ १९
२५ वर्षको यो लामो कालखण्डमा नेपालको राजनीतिले धेरै कोल्टे फेरिसकेको छ । राजतन्त्र इतिहास भइसकेको छ भने मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । तर, व्यवस्था फेरिए पनि नेपाली नागरिकको मनमा रहेको त्यो पुरानो संशय फेरिएको छैन ।

उच्च सुरक्षाको कडा घेराभित्र रहेको नारायणहिटी राजदरबारमा देशकै राजा र उनको सम्पूर्ण वंश सखाप हुँदाको सत्य के थियो ? के यो केवल एउटा सनकी युवराजको अनियन्त्रित आवेग मात्र थियो, या यसको पछाडि कुनै गहिरो आन्तरिक तथा बाह्य राजनीतिक षड्यन्त्र लुकेको थियो ? अनेक आशंका, अनुमान र फरेन्सिक त्रुटिहरूको जगमा उभिएको नारायणहिटी दरबार हत्याकाण्ड २५ वर्षपछि पनि नेपाली इतिहासको सबैभन्दा ठूलो र ‘नसल्टिएको रहस्य’ बनिरहेको छ ।